झापा : आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस झापाले विभिन्न समूहबाट उम्मेदवारको नाम सिफारिस गरेको छ। खुला समूहअन्तर्गत संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी र पूर्वाञ्चल दैनिकका संस्थापक सञ्चालक हर्कलाल गिरीसहित १२ जनाको नाम सिफारिस गरिएको छ।
प्रेस युनियन नेतृत्व निकट एक सञ्चारकर्मीका अनुसार खुला समूहमा शिवाकोटी र गिरीसँगै शेरबहादुर भट्टराई, दयानन्द गोश्वामी, याम भण्डारी, ओमप्रकाश सरावगी, अनिलकृष्ण प्रसाईं, टिका प्रसाईं, केदारनाथ ढकाल, ओम विमली र प्रेम भट्टराईको नाम सिफारिस गरिएको हो। महिलातर्फ राधा सुब्बा, नौतली राजवंशी र निता पुरी तथा दलिततर्फ विनकुमार विश्वकर्माको नाम सिफारिस गरिएको जनाइएको छ।
कोशी प्रदेशमा यसपटक राष्ट्रिय सभाका तीन सदस्यको पद रिक्त हुँदैछ। सोही रिक्त पदका लागि कांग्रेस झापाले प्रदेश र केन्द्रमा उम्मेदवारको नाम सिफारिस गरेको हो। यद्यपि, प्रतिनिधिसभा निर्वाचनमा जस्तै औपचारिक रूपमा राष्ट्रिय सभासम्बन्धी सिफारिसको विवरण भने कांग्रेस झापाले सार्वजनिक गरेको छैन।
सिफारिसमा परेका सुधिरकुमार शिवाकोटी संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन्। उनी दुई पटक कांग्रेस झापाको सभापति भइसकेका छन्। पञ्चायतकालमा इलाम जिल्लामा नजरबन्द, विभिन्न समयमा हिरासत तथा राजा ज्ञानेन्द्रको शाही शासनकालमा चारआलीस्थित सैनिक हिरासतमा शारीरिक यातना भोगेका शिवाकोटी शालीन, भद्र र स्वच्छ छविका नेताका रूपमा परिचित छन्।
त्यस्तै, हर्कलाल गिरी अनारमनी गाउँ पञ्चायतमा प्रजातान्त्रिक खेमाबाट उम्मेदवार भई नेपाली कांग्रेसको तर्फबाट प्रधानपञ्च निर्वाचित भएका व्यक्ति हुन्। २०४८ सालमा उनी कांग्रेसकै तर्फबाट अनारमनी गाविस अध्यक्ष बनेका थिए। कांग्रेसका पूर्व जिल्ला सदस्य तथा हाल जिल्ला सल्लाहकार समिति सदस्य रहेका गिरी पूर्वाञ्चल दैनिकका संस्थापक सञ्चालकमध्ये एक हुन्।
सिफारिस सूचीमा रहेका दयानन्द गोश्वामी नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव तथा चकचकी गाविसका पूर्व अध्यक्ष हुन्। उनी हाल नेपाली लेखक संघ झापाका जिल्ला अध्यक्षका रूपमा सक्रिय छन्।
शेरबहादुर भट्टराई कांग्रेस झापाका वर्तमान उपसभापति हुन्। उनी झापा क्षेत्र नम्बर ५ का पूर्व क्षेत्रीय सभापति तथा दमक नगर सभापति समेत रहिसकेका छन्। ओमप्रकाश सरावगी कांग्रेस झापाको जिल्ला सल्लाहकार समिति सदस्य तथा कोशी प्रदेशका पूर्व सहकारी मन्त्री हुन्।
प्रतिक्रिया