खोटाङ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आगामी निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् ।
गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीप्रति जनसमर्थन बढ्दै गएको दाबी गर्दै अबको सरकारको नेतृत्व आफूहरूले गर्ने बताएका हुन् । उनका अनुसार श्रम गर्ने वर्गको नेतृत्वबिना देशमा वास्तविक परिवर्तन सम्भव छैन ।
धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहेका साम्पाङले स्पष्ट दृष्टिकोण र काम गर्ने नेतृत्वबाट मात्र देश विकास हुने बताए । “नेताहरूले पटक–पटक उही समस्या समाधान गर्छु भनेर भोट माग्छन्, तर समस्या जस्ताको तस्तै छ,” उनले भने, “एउटै योजनामा पटक–पटक बजेट हालेर पनि योजना पूरा हुँदैन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्षम र इमानदार नेतालाई भोट दिन जरुरी छ ।”
अब भाषणभन्दा श्रमलाई सम्मान गर्ने राजनीति आवश्यक रहेको उल्लेख गर्दै उनले किसान, मजदुर र उत्पादनमा संलग्न नागरिकलाई अवसर दिन सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
आमसभाकै क्रममा तत्कालीन जिल्ला विकास समिति खोटाङका पूर्व उपसभापति सीताराम राई, पहिचानवादी नेता मोहन गुरुङलगायत विभिन्न दल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
यसै अवसरमा श्रम संस्कृति पार्टीको खोटाङ जिल्ला कार्यसमिति गठन गरिएको जानकारी दिइयो । प्रताप राईको अध्यक्षतामा गठन भएको ५३ सदस्यीय समितिको उपाध्यक्षमा उमा चाम्लिङ, सङ्गीता किराती र राजेन्द्र राई, सचिवमा धनीराम नछुङ, सहसचिवमा भविराज राई र मिलन खड्का, कोषाध्यक्षमा कौशिला राई, सहकोषाध्यक्षमा सुवास राई तथा प्रवक्तामा राजन राई चयन भएका छन् ।
प्रतिक्रिया