काठमाडौं। नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेस निर्वाचनबाट नभाग्ने तर सरकारले चुनावी वातावरण बनाउनुपर्ने बताएका छन्।
उनले पार्टी भित्र र बाहिर पार्टी एकता आवश्यक रहेको बताउँदै त्यसका लागि केन्द्रीय समितिको बैठक महत्वपूर्ण रहेको बताएका छन्।
मंगलबार केन्द्रीय समितिको बैठकमा सहभागी हुनेक्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टी भित्र र बाहिर एकतावद्धरुपमा लिएर जानु आजको आवश्यकता रहेको औंल्याएका हुन् ।
‘हामी केवल कांग्रेस भित्रको एकता मात्र कुरा गरिरहेका छैनौं । संविधान, देश, प्रजातन्त्रलाई स्थिरता बनाउनेक्रममा छौं । अन्य पार्टीहरुसँग सल्लाह गरेर अगाडि बढाउन यस पटकको बैठक एउटा कोशेढुङगाा सावित हुने विश्वास गरेका छौं।’
उनले कांग्रेस एकतावद्ध नभई मुलुकको अहिलेको राजनीतिक अवस्था नसुध्रिने भन्दै संविधान र व्यवस्थाप्रतिको आस्थालाई केन्द्रीत बनाएर युवापुस्तालाई आकर्षित गराउनुपर्ने बताए ।
‘बैठकमा कांग्रेस अझ बढी एकिकृत एवम एकताबद्ध भएर प्रस्तुत हुनेछौं । कांग्रेसलाई पहिलो पार्टीका रुपमा लानुपर्नेछ । संविधान र व्यवस्थाप्रतिको आस्थालाई केन्द्रीत बनाएर युवाहरुलाई आकर्षित बनाउनुपर्ने छ । त्यसैले हामी सबैलाई समेटेर अगाडि जाने प्रयास गर्दैछौ,’ उनले भने ।
उनले चुनाव गराउनेगरी सरकार लागे कांग्रेस पछाडि नजाने समेत बताए । साथै, हालको सरकारले देशमा बहुदलीय प्रतिस्पर्धा र राजनीतिक दलहरु छन् भन्ने कुरा बिर्सिएको पनि बताए ।
प्रतिक्रिया