काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले मङ्गलवारको केन्द्रीय कार्यसमिति बैठकमा ऐतिहासिक तथा निर्णायक कदम चालेको बताएका छन् ।
उनका अनुसार, देउवाले बैठकमा कार्यवाहक सभापति तोकी बाँकी जिम्मेवारी केन्द्रीय समितिलाई सुम्पिएका छन्, जसले पार्टीभित्र नेतृत्व हस्तान्तरणको सङ्केत दिएको छ ।
विशेष महाधिवेशनको मागसहित पार्टी कार्यालय पुगेका महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले भने, “सभापति देउवाले आज कार्यवाहक सभापति नियुक्त गरी केन्द्रीय समितिलाई जिम्मेवारी हस्तान्तरण गर्नुभयो । हामीले उहाँको उपस्थितिको सम्मान गर्दै आज थप कामकारबाही अघि नबढाउने निर्णय गर्यौँ ।”
थापाका अनुसार देउवाले बैठकमा पार्टी एकताको आह्वान गर्दै १५औँ महाधिवेशन विधानअनुसार मङ्सिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने प्रतिबद्धता जनाएका थिए ।
उनले भने, “सभापतिले एकताको सन्देश दिनुभयो र १५औँ महाधिवेशन समयमै गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँको सम्बोधन सभापतिको रूपमा अन्तिमजस्तै महसुस भयो, त्यसैले हामीले उहाँको कदमको सम्मान गर्दै अन्य एजेन्डा रोक्यौँ ।”
महामन्त्री थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार अपराह्न ३ बजे विशेष महाधिवेशनको मागसहितको हस्ताक्षर बुझ्ने जानकारी पनि दिए ।
प्रतिक्रिया