काठमाडौं : इजरायलमा हमास समूहद्वारा अपहरणमा परेका नेपाली युवा विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली राजदूतावासमार्फत आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।
मन्त्रालयका अनुसार मंगलबार इजरायलका परराष्ट्र मन्त्रालयका सचिव बार तालले नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईलाई टेलिफोन गरी जोशीको निधनबारे औपचारिक जानकारी दिएका थिए ।
‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत अध्ययन तथा कामका लागि इजरायल गएका विपिनलाई सन् २०२३ को अक्टोबर ७ मा हमास समूहले अपहरण गरी गाजामा बन्धक बनाएको थियो । इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपछि सोमबार हमासले विपिनसहित चार जनाको मृत्यु भएको जानकारी गराएको थियो ।
सोही जानकारीका आधारमा रेडक्रसको टोलीले सोमबार नै गाजाबाट विपिनसहित चार जनाको शव इजरायल ल्याएको थियो । इजरायलमा गरिएको डीएनए परीक्षणपछि विपिनको मृत्यु अपहरणको एक महिना अर्थात् सन् २०२३ को अन्त्यतिरै भएको हुनसक्ने प्रारम्भिक रिपोर्ट आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विपिनको शव नेपाल ल्याइसकेपछि मृत्युको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान र आवश्यक पहल गर्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया