इटहरी । पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा इटहरीमा हुँदै आएको गोल्डकप अन्तर्गत तेस्रो संस्करणको अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता आगामी फागुन २ गतेदेखि हुने भएको छ । गोल्डकप फुटबल प्रतियोगिता फागुन ९ गतेसम्म चल्नेछ ।
आयोजक द योङ ब्रदर्श क्लब इटहरीले शनिबार पत्रकार सम्मेलन गरि अघिल्ला दुईवटा संस्करण प्रदेशस्तरीय भएतापनि यसपटकदेखि भने अन्तर्राष्ट्रिय स्तरको गर्ने क्लबका संरक्षक विकास केसीले बताए । उनका अनुसार प्रतियोगिता गर्नुको मुख्य कारण खेलाडी उत्पादन रहेको छ ।
खासगरेर पछिल्लो समय इटहरीमा फुटबल खेलाडीको अभाव भएको महसुस गरि त्यसलाई पूर्ति गर्न प्रतियोगिता गर्नुको मुख्य उद्देश्य रहेको केसीले बताए । इटहरीबाट फुटबल खेलाउँदा पछिल्लो समय अरुतिरबाट खेलाडी बटुलेर ल्याउनुपर्ने बाध्यता छ । यस्तो बाध्यताको अन्त्य गरि इटहरीका नयाँ पुस्तालाई ऊर्जा थपेर खेलकुदप्रति आकर्षित गर्न खेलकुद गतिविधी सञ्चालन गर्न लागिएको उहाँले प्रष्ट पारे ।
खेलमा भारतसहित नेपालका नाम चलेका आठवटाको टीमको सहभागिता रहनेछ । केही टिमसँग नाम फाइनल गर्न बाँकी रहेको जानकारी दिइयो ।
अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा रुपान्तरण भएसँगै विजेता टीमलाई चार लाख चार हजार रुपैयाँ नगद प्रदान गरिने भएको छ । यस्तै, उपविजेता टीमलाई दुई लाख दुई हजार दुई सय प्रदान गरिनेछ ।
खेलमा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ । खेलमा उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिड फिल्डर, स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई जनही १३÷१३ हजार रुपैयाँ प्रदान गरिनेछ । खेलकुदका लागि तीस लाखभन्दा बढी खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यस प्रतिस्पर्धाका लागि इटहरी उपमहानगरपालिकाको संयोजन र कोशी प्रदेश खेलकुद विकास बोर्ड संरक्षक रहनेछ । पत्रकार सम्मेलनकै क्रममा खेलाडीहरुलाई जर्सी वितरण समेत गरियो ।

प्रतिक्रिया