इटहरी : सुनसरीको इटहरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थाका बजार प्रतिनिधि प्रेमकुमार मिश्रको आत्महत्या प्रकरणपछि संस्थाभित्रको विवाद झनै चुलिएको छ ।
घटनापछि आरोप–प्रत्यारोप बढिरहेकै बेला संस्थाले पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी र शेयर सदस्य मनोज दाहाललाई सदस्यताबाट निष्कासन गरेको छ भने कर्मचारी तेजप्रसाद सुवेदीलाई तीन महिनाका लागि निलम्बन गरेपछि विवाद थप चुलिएको हो ।
कात्तिक १७ गते झापा घर भएका बजार प्रतिनिधि मिश्रले आत्महत्या गरेपछि संस्थाभित्र लुकिरहेको तनाव सतहमा आएको हो । निष्कासनमा परेका पूर्वअध्यक्ष अधिकारी, शेयर सदस्य दाहाल र निलम्बित कर्मचारी सुवेदीले बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै ‘हटाइएका निर्णय न त विधिसम्मत प्रक्रिया अनुसार भए, न त कुनै आधार नै छ’ भन्दै आफूहरू निर्णयबाट अचम्मित र दुःखी भएको प्रतिक्रिया दिए ।
तीन कार्यकाल अध्यक्ष भोगिसकेका अधिकारीले हालका अध्यक्ष यादपप्रसाद ढकालमाथि ‘व्यक्तिगत रिसइवी र बाहुबली शैलीमा निर्णय गरेको’ आरोप लगाए ।
हटाइएको कारणपत्रमा ‘भ्रामक तथा तथ्यहीन समाचार सम्प्रेषण’ गरेको उल्लेख भए पनि कुन माध्यम, कुन समाचार र के आधार भन्नेबारे कुनै प्रष्टता नरहेको उनले बताए ।
अधिकारीले आफूले संस्थाबारे कुनै टिप्पणी वा समाचार लेखेको नै नभएको दाबी गर्दै निर्णय सहकारी ऐन तथा भावनाविपरीत रहेको उल्लेख गरे ।
शेयर सदस्य मनोज दाहालले पनि आफू र अधिकारीमाथि लगाइएको आरोपलाई ‘मनगढन्ते र असत्य’ भन्दै अध्यक्ष ढकालका गलत गतिविधिबारे सचेत गराउँदा उल्टै कारबाहीको निशानामा पारिएको आरोप लगाए ।
निलम्बित कर्मचारी सुवेदीले भने ‘आफूलाई फसाएर जागिरबाट हटाउने नियतले जालझेलपूर्ण आरोप लगाइएको’ दाबी गरे ।
यता, संस्थाका अध्यक्ष ढकालले मृतक मिश्रको आत्मनिर्णयप्रति संस्था संवेदनशील रहेको तर निलम्बित कर्मचारी सुवेदीले मृतकका परिवारलाई उत्तेजित पार्ने काम गरेको प्रमाण रहेको बताए ।
ढकालका अनुसार सुवेदी र दाहालले आफूलाई नै ‘मार्नेसम्मको योजना बनाएको सूचना’ पाएपछि कार्यसमिति तथा उपसमितिहरूको बैठक बसेर आवश्यक निर्णय लिइएको हो । उनका अनुसार पूर्वअध्यक्ष अधिकारीका गतिविधिले संस्थाको इमेजमा प्रतिकूल असर परेकाले बाध्य भएर कारबाही गरिएको हो ।
मृतक मिश्रले छोडेको सुसाइड नोटमा बजार प्रमुख रञ्जित झा र सहायक शेरबहादुर खड्काका कारण आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख छ ।
संस्थाको सात लाखभन्दा बढी रकम उठाउन नसकेको र उठाएको भनिएको केही रकम व्यापारीहरूले संस्था मै बुझाइसकेको खुल्दा मिश्र मानसिक दबाबमा परेको दाबी पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको थियो ।
सहकारीमा एकलौटी निर्णयहरूले संस्था समस्या ग्रस्त बनेको भन्दै प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दर्ता गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतिक्रिया