काठमाडौं : नेपाल रेडक्रस सोसाइटीमा देखिएको अपारदर्शिता, आन्तरिक कलह र संस्थागत सुशासनको अभावका कारण विश्व मञ्चमा नेपालको छवि कमजोर बन्दै गएको छ । रेडक्रस नेतृत्वमा राजनीतिक हस्तक्षेप बढेपछि संगठनसँग आवद्ध १० लाखभन्दा बढी रेडक्रसकर्मीको मिहिनेत, योगदान र इमानविरुद्ध समेत प्रश्न खडा भएको वरिष्ठ रेडक्रसकर्मीहरू बताउँछन् ।
नीतिगत तथा प्रशासनिक तहमा रहेका व्यक्तिहरूको स्वार्थमूलक गतिविधि, सरकारी राजनीतिक–प्रशासनिक नेतृत्वको हस्तक्षेप र निरन्तर विवादका कारण नेपाली रेडक्रस हाल अन्तर्राष्ट्रिय निकायमार्फतै निगरानीमा परेको छ । देशभर रहेका ७७ जिल्ला शाखा, ६ सय उपशाखा र ६ हजार ९३४ जुनियर रेडक्रस च्याप्टरसँग जोडिएका एक लाख स्वयंसेवी र दस लाखभन्दा बढी आबद्ध सदस्य आजकल अनिश्चिततामा परेका छन् ।
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी (IFRC) ले नेपाल रेडक्रसप्रति औपचारिक रूपमा गम्भीर चासो, चिन्ता र अविश्वास व्यक्त गरेपछि नेपालको रेडक्रस आन्दोलन अन्योलमा परेको हो । IFRC को अनुपालन तथा मध्यस्थता समिति (CMC) ले यदि विवाद समाधानमा ठोस प्रगति नभए नेपालमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धको सिफारिस गर्नुपर्ने सङ्केत गरेपछि रेडक्रसका कर्मचारी तथा साझेदार संस्था झस्किएका छन् ।
गत असोज ८ र ९ मा बसेको IFRC को ५३औँ बैठकले नै नेपाल रेडक्रस विवादलाई औपचारिक एजेन्डा बनाएर छलफल गरेको प्रतिवेदन सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बदनामी थपिएको हो । राजनीतिक दलहरूले रेडक्रसलाई ‘कार्यकर्ता भर्ती केन्द्र’जस्तै प्रयोग गरेको आरोपपछि अन्तर्राष्ट्रिय समुदायबीच सङ्गठनप्रतिको विश्वास कमजोर भएको अग्रजहरू बताउँछन्।
पूर्वपदाधिकारीहरूका अनुसार रेडक्रस लामो समयदेखि नेतृत्व विवाद, आर्थिक अनियमितता र राजनीतिक प्रभावका कारण समस्या बढ्ने क्रम रोकिएको छैन । नेतृत्व पद सम्हाल्ने व्यक्तिहरूबीचको सङ्घर्ष, आर्थिक पारदर्शितामा देखिएको कमी र हितबादमै अडिएको निर्णय प्रक्रियाले संस्थाको मानवीय सेवाक्षमता कमजोर भइरहेको छ ।
२०७७ साउनमै IFRC ले रेडक्रसभित्रको विवादका कारण सहकार्य स्थगित गर्ने चेतावनी दिएको थियो । अहिले पनि रेडक्रस स्वास्थ्य, विपद् व्यवस्थापन, खानेपानी–सरसफाइ, लैङ्गिक तथा सामाजिक समावेशीकरणलगायत क्षेत्रमा अमेरिकन, क्यानेडियन, डेनिस, फिनिस र ब्रिटिस रेडक्रससँग सहकार्यमा काम गरिरहेको छ । सङ्गठनका अनुसार ६७ जिल्लामा २७७ एम्बुलेन्स, ११० ब्लड बैङ्क, प्राथमिक उपचार र आपत्कालीन उद्धार कार्यक्रम सञ्चालनमा छन् ।
गत आइतबारदेखि रेडक्रसको बैङ्क खाता नै सञ्चालनमा रोकावट आएपछि सोसाइटीले प्रशासनिक अवरोध हटाइदिन काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई गुहारेको छ । लगातारको मुद्दा–मामिलाले संस्थालाई नेतृत्वविहीन बनाएको छ ।
आर्थिक अनियमितताको छानबिनपछि कार्यकारी निर्देशक उमेशकुमार ढकाल पदमुक्त भए । कार्यवाहक निर्देशक पनि आइतबारदेखि अवकाशमा गएपछि हाल २५३ कर्मचारीको तलब नै रोकिएको प्रवक्ता विपुल न्यौपानेले बताए ।
रेडक्रस विवादको मूल फुट्ने जमिन २०७५ चैतदेखि सुरु हुन्छ । सञ्जीव थापा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिए पनि नयाँ निर्वाचन नहुँदा विवाद तीव्र बन्यो । १५ महिना अवधि बढाएर दुई पटकसम्म समय थपिन्थ्यो तर चुनाव हुन सकेन । अन्ततः २०७६ जेठ ८ मा सरकारले हस्तक्षेप गर्दै डा. विश्वकेशर मास्केको अध्यक्षतामा १७ सदस्यीय समिति घोषणा गर्यो ।
यसपछि क्रमशः :
२०७७ असार ४ — अनियमितता छानबिनका लागि चार्टर्ड एकाउन्टेन्टको नेतृत्वमा समिति
२०७७ साउन १२ — सरकारद्वारा डा. नेत्र तिम्सिनाको तदर्थ समिति
२०८० असार २५ — देशभरका प्रतिनिधिबाट डा. तिम्सिनाको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति
२०८१ कात्तिक ३ — तिम्सिना नेतृत्व र काँग्रेस–एमाले–माओवादी गठबन्धनबीच सहमति, ‘सर्वदलीयजस्तै समिति’ गठन
३३ सदस्यीय संरचना तोकिएको भए पनि ५६ जनालाई राजनीतिक भागबन्डाका आधारमा नियुक्ति गर्दा विवाद झन् बढ्यो । दुई समानान्तर नेतृत्वबीच वैधानिकता खोज्ने विवाद अन्त्य नहुँदा रेडक्रसको विश्वसनीयता दिनानुदिन घट्दै गएको पूर्वपदाधिकारीहरूको आरोप छ ।
लगातारको कलह, राजनीतिक हस्तक्षेप, अपारदर्शिता र नेतृत्वहीनताले नेपाल रेडक्रस सोसाइटी इतिहासकै सबैभन्दा गम्भीर सङ्कटमा फसेको छ । अन्तर्राष्ट्रिय समुदायको कडा चेतावनी र सम्भावित प्रतिबन्धको जोखिमले सङ्गठनको भविष्य मात्र होइन, मानवीय सेवा क्षेत्रमा नेपालको विश्वसनीयता पनि चुनौतीमा परेको देखिन्छ ।
प्रतिक्रिया