बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छ : सभापति थापा

शनिबार, १७ माघ २०८२
फाइल फोटो

काठमाडौँ  : बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बताएका छन्। 

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै सभापति थापाले देश बदल्नका लागि कांग्रेस बदलिएको बताएका हुन्।

“समयक्रमसँगै कांग्रेस नयाँ काम, सोच र सङ्कल्पका साथ अगाडि बढेको छ, कांग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ”, सभापति थापाले भने । आगामी दिनमा टिकट लिन नेताको घरमा चाहर्ने प्रवृत्तिको अन्त्य हुनेगरी कार्यकर्तालाई बलियो बनाउन लागिएको सभापति थापाको भनाइ रहेको थियो । लोकतन्त्र र सामाजिक न्यायको बारेमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने सभापति थापाले स्पष्ट पारे ।

सभापति थापाले आम नागरिकको चाहना सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाओस् भन्ने रहेको बताउँदै बदलिएको कांग्रेसले आम नागरिकको चाहनालाई पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सभापति थापाले विशेष महाधिवेशनले पार्टीभित्र गुट र भागबण्डाको राजनीति अन्त्य गरेको समेत जानकारी गराए । सभापति थापाले युवाहरुको आवाजलाई कांग्रेसले सुनेर अगाडि बढेको बताउदै कांग्रेससँग सुधारको एजेण्डा र सबैलाई जोड्ने ताकत रहेको समेत बताए । 

थापाले युवालाई देशभित्रै रोजगारीको अवसर दिन कांग्रेस लाग्ने बताए  । सभापति थापाले पार्टीभित्र आफूलाई अहिलेको उचाइमा पु¥याउन काठमाडौँ क्षेत्र नम्बर ४ का कार्यकर्ता र आम मतदाताले खेलेको भूमिकाको उच्च सम्मान गर्दछु भने । 

सभापति थापाले मधेसलाई काठमाडौँसँग जोड्न र मधेसको मुद्दा बुझ्नका लागि आफूले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएको समेत बताए । 

कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले काठमाडौँ क्षेत्र नम्बर ४ को विकासका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता गरे । उनले जेनजी आन्दोलनपछि बदलिएको कांग्रेसले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको बताउँदै जितको लागि आम क्षेत्र नम्बर ४ वासीको साथ र सहयोगको अपेक्षा गरे । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार