जनता क्याम्पसको ऐतिहासिक पहल, इटहरीमा पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

सोमबार, १५ मंसिर २०८२
फोटो : पत्रकार सम्मेलन

इटहरी : शैक्षिक गुणस्तर वृद्धिका लागि स्थानीय र क्षेत्रिय स्तरका शैक्षिक सभा सम्मेलन गर्दै आइरहेको सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । 

बृहत्तर शैक्षिक क्षेत्रलाई समावेश गरेर जनता बहुमुखी क्याम्पसले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलन आगामी पुस महिनाको ५ र ६ गते गर्ने भएको हो । 

शैक्षिक सम्मेलनमा विभिन्न विषय केन्द्रित कार्यशाला गरी ज्ञानको सङ्कलन, प्रतिपादन र विस्तारमा जोड दिँदै सम्मेलनका आयोजना गर्न लागिएको जनाइएको छ ।  वि स २०४५ मा इटहरी तथा आसपासका क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको पब्लिक स्तरको जनता बहुमुखी क्याम्पसले  सस्तो र सुलभ मूल्यमा गुणस्तरीय शिक्षा उपलब्ध गराइरहेका कारण यहाँ टाढा टाढा देखि पनि अध्ययनका लागि विद्यार्थीहरू आउने गरेका छन् । विद्यार्थीको चाप अत्यधिक रहेका कारण  तीन शिफ्ट—बिहान, दिउँसो र साँझमा अध्ययन अध्यापन गरिँदै आएको छ । 

जनता बहुमुखी क्याम्पसले कोशी प्रदेशका १४ वटा जिल्ला तथा मधेस प्रदेशका केही भागहरूबाट आउने विद्यार्थीहरूलाई लक्षित गर्दै व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायमा विभिन्न  विषयहरूमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । पहिलो आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सफल पार्न इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले पाँच लाख उपलब्ध गराउने जानकारी गराए ।  

पहिलो पटक आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य उच्चशिक्षाको दिगोपनका लागि बहस तथा छलफल चलाउनु । नवीन शैक्षिक मोडलहरूको अध्ययन र प्रसार गर्नु । मानविकी र सामाजिक विज्ञानको भूमिका अन्वेषण गर्नु । स्थायी व्यावसायिक प्रथाहरूको अनुसन्धान र प्रवर्द्धन गर्नु लगायत रहेको सो अवसरमा जानकारी गराइयो । 

सम्मेलन आयोजना गर्न आयोजक समितिले यही वर्षको असोज ०८ गते देखी मङ्सिर १४ गते सम्ममा अनलाइन माध्यमबाट देश तथा विदेशका विश्वविद्यालय, क्याम्पस, अनुसन्धान प्रतिष्ठान, उच्चशिक्षाका सरोकारवाला संस्था, प्राध्यापक, योजनाविद् तथा बौद्धिक व्यक्तित्वहरूबाट अवधारणा पत्रको सारांश माग गरे थियो । जसअनुसार निर्धारित मितिसम्ममा ६० वटा अवधारणा पत्रको सारांश प्राप्त भएका समेत सम्मेलनका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो  ।

सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले सम्मेलन आयोजना गर्न ३५ देखि ४० लाख खर्च लाग्ने अनुमान गरिएको जनाकारी गराए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार