निलम्बनदेखि ‘कमाण्डर’सम्म: सुनसरी–२ मा द्वारिकालाल चौधरी फर्किँदा एमालेको दाउ कति मजबुत बन्यो?

शुक्रबार, १६ माघ २०८२

इटहरी : पार्टी अनुशासन उल्लङ्घनको आरोपमा ६ महिनाका लागि निलम्बनमा परेका इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकालाल चौधरीलाई नेकपा (एमाले)ले सुनसरी निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कमाण्डरको जिम्मेवारी दिएसँगै स्थानीय राजनीति फेरि तरङ्गित बनेको छ।

निलम्बन फुकुवा गर्दै चौधरीलाई चुनावी मैदानको अग्रमोर्चामा उतार्नु एमालेको रणनीतिक निर्णयका रूपमा हेरिएको छ। एमालेले सुनसरी–२ बाट सुजन लामालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइसकेको अवस्थामा चौधरीलाई कमाण्डर बनाउनु भनेको ‘जोखिमसँगै अवसर’ रोज्नुजस्तै देखिन्छ।

राजनीतिक वृत्तमा चौधरीको पुनरागमनसँगै सुनसरी–२ को चुनावी समीकरण एमालेको पक्षमा झुक्न सक्ने चर्चा चुलिएको छ। पार्टी स्रोतका अनुसार स्थानीय सङ्गठनमाथिको पकड, समुदायसँगको सम्बन्ध र चुनावी व्यवस्थापनमा उनको अनुभवलाई मध्यनजर गर्दै उनलाई निर्णायक भूमिकामा ल्याइएको हो।

यसअघि एमाले कोशी प्रदेश कमिटीले अनुशासन उल्लङ्घनको आरोपमा चौधरीलाई पार्टी सदस्यताबाट ६ महिनाका लागि निलम्बन गर्दै सबै जिम्मेवारीबाट मुक्त गरेको थियो।

कारबाहीका बेला चौधरीले पार्टीभित्रको गुटबन्धन र दुराग्रहका कारण आफूलाई योजनाबद्ध रूपमा निशाना बनाइएको दाबी गरेका थिए। उनले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेकै कारण कारबाही खेप्नुपरेको आरोपसमेत लगाएका थिए।

तर, निर्वाचन नजिकिँदै जाँदा एमालेले विगतका तिक्तता थन्क्याउँदै उनलाई पुनः केन्द्रीय भूमिकामा फर्काएको छ, जसलाई पार्टीभित्र ‘व्यावहारिक राजनीति’को उदाहरणका रूपमा हेरिएको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित चौधरीको कार्यकाल विवादले भरिएको थियो। पत्रकारमाथि दुर्व्यवहार, सेवाग्राहीलाई कार्यालयमै थुन्ने तथा सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिने जस्ता आरोपहरूले उनको छवि विवादित बनेको थियो।

२०७९ को निर्वाचनमा टिकट नपाएपछि उनी माओवादी केन्द्र प्रवेश गरी सुनसरी–२ (क) बाट प्रदेशसभा उम्मेदवार बने। कांग्रेससहितको गठबन्धनको समर्थन हुँदाहुँदै पनि उनी एमाले उम्मेदवार रेवतीरमण भण्डारीसँग पराजित भए। पराजयपछि केही समय राजनीतिक रूपमा निष्क्रिय देखिएका चौधरी करिब नौ महिनापछि पुनः एमालेमै फर्किए।

२०८० असोजमा अध्यक्ष ओलीसँग भेटपछि उनी औपचारिक रूपमा पार्टीमा सक्रिय बने भने २०८१ भदौमा एमाले कोशी प्रदेश कमिटी सदस्यमा मनोनीत भए। द्वारिकालाल चौधरीलाई निर्वाचन कमाण्डर बनाउनु एमालेका लागि दुईधारे तरबार सावित हुन सक्छ।

समर्थकहरूले उनलाई ‘निर्णायक खेलाडी’का रूपमा हेरेका छन् भने विपक्षी दलहरूले उनको विवादित विगतलाई प्रमुख चुनावी मुद्दा बनाउने तयारी गरिरहेका छन्। तर, स्थानीय सङ्गठनमाथिको पकड, मतदाता परिचालन क्षमता र सामाजिक सञ्जालमा रहेको प्रभावलाई हेर्दा सुनसरी–२ को चुनावमा चौधरीको भूमिका निर्णायक हुन सक्ने आकलन गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार