प्यानल प्रतिस्पर्धाको तयारीमा ओली–पोखरेल : महासचिवको टुंगो नै ‘टर्निङ प्वाइन्ट’

सोमबार, १५ मंसिर २०८२

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ महाधिवेशन नजिकिँदै जाँदा प्यानल निर्माणदेखि नेतृत्व चयनसम्म नेताहरू आन्तरिक तानातानमा परेका छन्। अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएपछि दुवै पक्ष प्यानल निर्माण र रणनीति तय गर्न दौडधुपमा छन्।

देशभरि महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया सकिएको छ। केन्द्रीय कमिटीमा प्रवेश गर्न चाहने तथा पदाधिकारी बन्ने आकाङ्क्षा भएका नेताहरू राजधानी धाउनेक्रम बढेको छ। अहिलेको स्थायी कमिटी र पोलिटब्युरोमा रहेका अधिकांश नेताहरू पनि पदाधिकारी बन्ने लक्ष्यसहित आन्तरिक लबिङमा जुटिरहेका छन्।

गत भदौ तेस्रो साता सम्पन्न दोस्रो विधान महाधिवेशनले १९ सदस्यीय पदाधिकारी घटाएर १५ सदस्यीय बनाएको थियो। यति कम सङ्ख्या भित्र पदाधिकारी भइसकेका र आकाङ्क्षी दुवैलाई व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारी सङ्ख्या फेरि बढाउनुपर्ने आवाज पार्टीभित्र उठ्न थालेको छ।

विधानअनुसार अब अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, ३ उप–महासचिव र ७ सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ। प्रदेश कमिटी अध्यक्षहरू पदेन केन्द्रीय सदस्य हुने प्रावधान पनि यथावत् छ। यसै संरचना अनुसार महाधिवेशनमा प्रतिस्पर्धा हुनेछ।

एमालेले यसपटक केन्द्रीय सचिवालयको संरचना हटाएर १५ सदस्यीय पदाधिकारी नै स्थायी कमिटीको रूपमा परिणत गर्ने निर्णय गरिसकेको छ। २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको एक तिहाइ अर्थात् ८४ सदस्यीय पोलिटब्युरो रहनेछ। स्थायी कमिटी नहुँदा धेरै नेता पोलिटब्युरोमै सीमित हुनेछन्।

एमालेले मङ्सिर २७ देखि २९ गतेसम्म ११औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ। पार्टीले भदौमा राजनीतिक, साङ्गठनिक तथा विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरिसकेकाले अब नेतृत्व चयन मुख्य एजेन्डा बनेको छ।

अध्यक्षका प्रत्याशी ओली तेस्रो कार्यकालका लागि मैदानमा उत्रँदै गर्दा वरिष्ठ उपाध्यक्ष पोखरेल पनि खुला रूपमा प्रतिस्पर्धामा आइसकेका छन्। यी दुवैलाई सबैभन्दा ठुलो चुनौती भने महासचिव कसलाई बनाउने भन्ने विषयमै देखिएको छ।

ओली समूहबाट वर्तमान महासचिव शङ्कर पोखरेल दोहोरिन इच्छुक छन्। उप–महासचिव पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली पनि महासचिवको आकाङ्क्षामा छन्। जिल्ला दौडाहाका क्रममा गुरुङले आफू महासचिव पदका मजबुत दाबेदार भएको खुलेर बताइरहेका छन्। स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले पनि आफू स्वाभाविक दाबेदार भएको दाबी गर्दै आएका छन्।

यस्तोमा शङ्कर पोखरेललाई दोहोर्‍याउने कि उपाध्यक्ष बनाउने भन्ने विषयले अध्यक्ष ओलीलाई निर्णयमै सकस परेको स्रोत बताउँछ। ओलीले महासचिवमा गुरुङ र उपाध्यक्षमा पोखरेल तथा ज्ञवालीलाई राख्ने विकल्पसमेत विचार गरिरहेको बताइन्छ।

अर्को पक्षमा रहेका ईश्वर पोखरेल भने, ओली समूहका गुरुङलाई आफ्नो पक्षमा ल्याएर महासचिव बनाउने योजनामा छन्। गुरुङ ईश्वर पक्षमा आए महासचिवमा अन्य आकाङ्क्षीहरूले पनि सहमति जनाउने वातावरण बनाइएको छ।

ओली पक्षबाट उपाध्यक्षका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, विष्णु रिमाललगायतलाई अघि सार्ने तयारी गरिएको छ। उप–महासचिवमा लेखराज भट्ट, पद्मा अर्याल र छविलाल विश्वकर्माको नाम चलिरहेको छ।

सचिव रघुवीर महासेठलाई पुनः सचिवमै राख्ने ओलीको योजना रहेको स्रोत बताउँछ। जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल वा पोलिटब्युरो सदस्य महेश बस्नेतमध्ये एकलाई उप–महासचिवमा उभ्याउने विषयमा आन्तरिक छलफल भइरहेको छ।

उता, ईश्वर पोखरेल पनि आफ्नो समूह सुदृढ तुल्याउन सक्रिय छन्। उनले उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेलाई पुनः उपाध्यक्षमै अघि सार्ने तयारी गरेका छन्। गुरुङ नआएमा सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने वा सचिव योगेश भट्टराई वा गोकर्ण बिस्टमध्ये एकलाई महासचिव बनाउनेबारे छलफल भइरहेको छ। गुरुङ वा पाण्डे मध्ये जो आए पनि आफूहरू उप–महासचिवमै बस्न तयार रहेको भट्टराई र विष्टले ईश्वरलाई बताएका छन्।

दुवै पक्ष अब असन्तुष्ट नेताहरूलाई समेट्दै बलियो टिम बनाएर प्रतिस्पर्धामा उत्रने अन्तिम तयारीमा जुटिरहेका छन्।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार