झापा : एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ किलोमिटर सडक (एशियन हाइवे) स्तरोन्नतिको काम लक्ष्य अनुरुप नभएको पाइएको छ ।
नेपाल सरकारका सिँचाइ, ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले सोमवार गरेको निर्माणाधीन पूर्व–पश्चिम एसियन राजमार्गको स्थलगत निरीक्षणका क्रममा सडक स्तरोन्नतिको काम हालसम्म २५ प्रतिशत मात्र पूरा भएको पाइएको हो ।
काँकडभिट्टा–केरखा–सितापुरी ४५ किलोमिटर र सितापुरी–लौकही ५० किलोमिटर दुई चरणमा सडक निर्माण भइरहेको छ । जसअनुरुप पहिलो खण्ड काँकडभिट्टा–केरखा–सितापुरी तर्फ २९ प्रतिशत प्रगति भएको छ भने दोस्रो खण्ड १३ प्रतिशत मात्र प्रगति भएको पाइएको छ । सडक स्तरोन्नतिमा १३४ वटा कल्भर्ट, वन्यजन्तुमैत्री अण्डरपास, ७ वटा सवारी अण्डरपास र ५ वटा आकाशे पुल निर्माण गरिँदैछ ।
मन्त्री घिसिङले निरीक्षणका क्रममा सडक निर्माणको ढिलाइका विषयमा प्रश्न गरेका थिए । उनले हिउँद शुरु भइसकेकोले उपयुक्त मौसममा निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए । उनले दक्ष जनशक्ति थपेर भएपनि निर्माण कम्पनीलाई काम समयमा सम्पन्न गर्न निर्देशन दिए ।
सडकको दायाँ–बायाँ रहेको विद्युतका पोल सार्ने काममा केही चुनौति देखिएको निर्माण कम्पनीले मन्त्री घिसिङलाई जानकारी गराएका थिए ।
सडक निरीक्षणका क्रममा मन्त्री घिसिङले इटहरीदेखि बिर्तामोडसम्मको सडक निर्माण प्रगति, निर्माणमा देखिएका समस्या र समाधानका उपायबारे सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।
प्रतिक्रिया