ओलीलाई ईश्वरको कडा टक्कर !

सोमबार, १५ मंसिर २०८२

काठमाडौं । नेकपा एमालेले मंसिर २७ गते देखि २९ गते सम्म गर्ने महाधिवेशनका लागि देशभर मंसिर १३ गतेभित्रै प्रतिनिधि चयन गर्ने भनेको थियो । तर मंसिर १४ गते समेत केही जिल्लामा प्रतिनिधिको बिषयलाई लिएर विवाद देखिएको छ । 

नेकपा एमालेको आगामी नेतृत्वमा सहज रुपमा केपी ओली हुने संस्थापन पक्षको दाबी थियो तर देशभरका महाधिवेशन प्रतिनिधि चयनको आँकडा हेर्दा ईश्वर पोखरेल पनि बलियो बनेको आंकलन भई रहेको छ । 

महाधिवेशनका लागि मंसिर १३ गते एकै दिनमा महाधिवेशन प्रतिनिधि चयन गर्ने बताएको एमालेमा जिल्ला तहसम्म नै कार्यकर्ताहरु विभाजित हुँदा केही जिल्लामा अझै प्रतिनिधि चयन हुन सकेको छैन । एमाले केन्द्रीय कार्यालयका अनुसार ३० भन्दा बढी जिल्लामा महाधिवेशन प्रतिनिधि चयन गर्न निर्वाचन भएको छ । 

केही जिल्लामा सर्वसहमति भएको छ भने केही जिल्लामा सर्वसहमति गराउने भन्दै निर्वाचन प्रकृयामा नै भएको छैन । एमाले महासचिव शंकर पोखरेलकै गृह जिल्ला दाङमा सर्वसहमतिमा महाधिवेशन प्रतिनिधि चयन गरिएको भनिएता पनि जिल्लाका केही नेताहरुले महासचिवले निर्देशन भन्दै  प्रतिनिधि चयन गरेको भन्दै नेता तथा कार्यकर्ताहरु नै रुष्ट भएका छन् । उनीहरुले संगठन विभागमा मुद्धा दर्ता समेत गराएका छन् । 

त्यस्तै ओखलढुङ्गामा निर्वाचन भएपनि विवाद हुँदा मतगणना केही बेर रोकिएको थियो । मंसिर १३ गते राति भए पनि प्रतिनिधि टुङ्गो लगाएर नाम पठाउन भने पनि १४ गतेसम्म पनि सबै नाम केन्द्रीय कार्यालयमा आइपुगेको छैन ।

जनसंगठन र विभागहरुबाट छानिएका प्रतिनिधिहरुको नाम केन्द्रीय कार्यालयमा आएको भए पनि अरु स्थानका प्रतिनिधिहरुको नाम केन्द्रीय कार्यालयमा आइ नसकेको एमाले संगठन विभागका सचिव माधव ढुङ्गेलले बताए । त्यस्तै केही जिल्लाहरुमा विवाद देखिएको छ । 

विवाद देखिएको जिल्लामा समस्या समाधान गरेर पठाउन भनिएको छ । जिल्लाले प्रतिनिधिहरुको नाम टुङ्खो लगाएर प्रदेश कमिटिमा पठाउने र प्रदेश कमिटिले जिल्ला केन्द्रमा पठाउने हुँदा १६ गते सम्म प्रतिनिधिहरुको नाममावलिको अन्तिम टुङ्गो लाग्ने ढुंगेलले जानकारी दिए ।  

विवाद देखिएका जिल्लाहरुको प्रतिनिधि छान्नका लागि विधि बनाईएको छ । कसरी प्रतिनिधि छानियो, विवाद के कुरामा हो जस्ता बिषयहरु हेरेर छलफलका माध्यमबाट प्रतिनिधिहरुको नाम टुङ्गो लगाईने र त्यसमा कसैको शक्तिले काम नगर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम दाबी गर्छन् । 

एमालेको आगामी महाधिवेशनबाट पनि केपी शर्मा ओलीकै नेतृत्वमा पार्टी अगाडी बढ्ने र उनको प्रतिस्पर्धी कोही नहुने पार्टीका कतिपय नेताहरुको दाबी थियो । तर प्रतिनिधि चयनको केही दिन अगाडी बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरे । 

पोखरेलले उम्मेद्वावारी घोषणा गरे पछि प्रतिनिधि चयनमा समेत जिल्ला जिल्लामा रस्साकस्सी चलिरहेको छ । अहिले जिल्ला जिल्लामा प्रतिनिधि चयनको बिषयलाई लिएर देखिएको हानाथापलाई एमाले सचिव छविलाल विश्वकर्मा नेतृत्व छान्न पाउनु संगठित सदस्यहरुको स्वभाविक अधिकार भएको बताउँछन् । 

१३ गते राति नै महाधिवेशन प्रतिनिधि चयन गरी सक्नु पर्ने बताएको एमालेको महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा भने निकै कम मात्रामा संगठित सदस्यहरुको सहभागीता छ । निर्वाचन भएका अधिकांश स्थानमा ३३ प्रतिशत समेत मत खसेको छैन । यसले एमालेभित्र निर्वाचनप्रति नेता कार्यकर्ताहरुले खासै चासो नदिएको देखिन्छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार