‘सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

शनिबार, १७ माघ २०८२

काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्ला हुँदै, चिसो मौसम र हिउँले ढाकिएको सडकमा खिचिएको एउटा तस्बिरसँगै सामाजिक सञ्जालमा लेखिएको सानो स्टाटस ‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ अहिले गहिरो राजनीतिक र भावनात्मक अर्थ बोकेको छ । यो केवल फेसबुक स्टाटस मात्र होइन, राज्यले लामो समयदेखि बेवास्ता गर्दै आएको भूगोल र जनताको पीडामाथि गरिएको गम्भीर टिप्पणी हो ।

राजधानीबाट टाढा भएकै कारण सुदूरपश्चिम र कर्णाली जस्ता क्षेत्र विकासमा पछि परेका छन् । सडक, शिक्षा, स्वास्थ्य, रोजगारी सबै क्षेत्रमा राज्यको पहुँच कमजोर रहँदै आएको यथार्थलाई यो स्टाटसले सांकेतिक रूपमा उजागर गरेको देखिन्छ । फागुन २१ को निर्वाचनको क्रममा पूर्वदेखि पश्चिमसम्म यात्रा गरिरहेका बालेन शाहले यो यात्रा केवल चुनावी प्रचारका लागि होइन, देश बुझ्ने, जनता सुन्ने र भोगाइबाट सिक्ने माध्यम बनाएका छन् ।

उनी आफैं पैदल हिँडेर बाटोको कठिनाइ अनुभूति गरिरहेका छन्, स्थानीयसँग संवाद गरिरहेका छन् र उनीहरूका दुःख, भोक, सपना र सम्भावनालाई नजिकबाट देखिरहेका छन् । यही क्रममा कर्णालीका जिल्लासम्म पुग्दा उनले त्यहाँको पीडा र आवाजलाई त्यहीँको भाषामा समेट्दै लेखे ‘कर्णालीका सुइना हाम्रा सुइना ।’ यो वाक्यले कर्णालीलाई हेर्ने दृष्टिकोण मात्र होइन, राज्य र नेतृत्वको संवेदनशीलताको खडेरीमाथि प्रश्न उठाएको छ ।

कर्णाली र सुदूरका जनताको भावना प्रयोग गर्ने नेता धेरै आए, आश्वासन बाँड्नेहरू झन् धेरै आए । तर ती जनताकै भोट लिएर सत्तामा पुगेकाहरूले कर्णालीका सपना पूरा गर्न सकेनन् यो तीतो यथार्थ अझै ताजै छ । यही पृष्ठभूमिमा, बालेन शाहले स्टाटसमार्फत देखाएको हुटहुटी भावुकता होइन, यो राज्य पुनःसंरचना र विकासको सोचसँग जोडिएको संकेत पनि हो ।

आज देशको राजनीतिक अवस्था हेर्दा, पुरानै शैली, पुरानै अनुहार र पुरानै भाषणप्रति जनतामा वितृष्णा बढ्दै गएको छ । यही अवस्थामा, बालेन शाहजस्ता फरक सोच र फरक बाटो हिँड्न खोज्ने पात्रप्रति जनताका मनमा केही आशा पलाएको देखिन्छ । ‘साच्चै बालेनलाई जितायो भने के नेपालले विकासको कोल्टे फेर्ला ?’ भन्ने प्रश्न अब चिया पसलदेखि सामाजिक सञ्जालसम्म गुञ्जिन थालेको छ ।

उनले लेखेका यी स्टाटसहरू हल्का शब्दमा लेखिएका भए पनि गहिरो गम्भीरता बोकेका छन् । यी शब्दहरू चुनावी नारा मात्र होइनन्, राज्यको केन्द्रबाट पर धकेलिएका भूगोल र जनतासँग जोडिने प्रयास हुन् । अब प्रश्न यही हो । के सुदूर र कर्णालीले यसपटक साँच्चिकै परिवर्तन महसुस गर्नेछन ? अहिले जनताको आशा यहीँ अडिएको देखिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार