उदयपुर । उदयपुर र दक्षिणी खोटाङ जिल्लालाई छोटो दूरीमा सिधा सडक सञ्जालमार्फत जोड्ने ठूलो आशा बोकेको सुनकोशी नदीको बंशिलाघाटमा निर्माणाधीन मोटरेबल पक्की पुलको काम चरम ढिलासुस्तीमा परेको छ ।
निर्माण सुरु भएको करिब पाँच वर्ष बितिसक्दा पनि पुलको भौतिक प्रगति जम्मा ११ प्रतिशतमा सीमित हुँदा स्थानीयवासीमा निराशा र आक्रोश बढ्दै गएको छ ।
यो पुल सम्पन्न भए दक्षिणी खोटाङ र उदयपुर बिचको दूरी उल्लेख्य रूपमा छोटिने स्थानीयको अपेक्षा छ । वर्षौँदेखि घुमाउरो र जोखिमपूर्ण बाटो हुँदै यात्रा गर्न बाध्य स्थानीयले सहज आवतजावतसँगै व्यापार–व्यवसाय फस्टाउने सपना देखेका थिए ।
तर बहुप्रतीक्षित आयोजना अहिले कागज र शिलान्यासमै सीमित भएको अनुभूति स्थानीयले गर्न थालेका छन् ।
२०७९ साल पुस १ गते तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काले सुनकोशी नदी किनारमा ठूलो तामझामका साथ पुलको शिलान्यास गरेका थिए ।
स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र सर्वसाधारणको बाक्लो उपस्थितिमा आयोजना सुरु हुँदा अब विकासको ढोका खुल्ने विश्वास खोटाङ र उदयपुरका जनताले गरेका थिए ।
तर काम सुरु भएको करिब पाँच वर्ष बित्दा पनि भौतिक प्रगति ११ प्रतिशतमा सीमित रहनुले स्थानीयलाई गहिरो निराश बनाएको छ ।
पुल सेक्टर धरानका अनुसार पुलको लम्बाइ १५० मिटर र चौडाइ ११ मिटर हुनेछ। पुलमा चार वटा पिलर र तीन वटा स्पान रहनेछन् ।
भ्याटसहित करिब १९ करोड १८ लाख ४१ हजार रुपैयाँ लागतमा ’डिजाइन एन्ड विल्ड’ प्रविधिबाट निर्माण सम्पन्न गर्ने गरी कालिका–भेदान्सी जेभी, बालुवाटार काठमाडौँले ठेक्का लिएको हो ।
सम्झौताअनुसार २०७७ साल पुस २८ गतेदेखि ३३ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर तोकिएको म्याद सकिँदासमेत कामको गति अत्यन्तै सुस्त देखिएको छ ।
पाइलिङमै अल्झिएको निर्माण
निर्माण कम्पनीका साइड इन्चार्ज किरण श्रेष्ठले पाइलिङको क्रममा प्राविधिक समस्या देखिँदा काम ढिलाइ भएको बताए ।
श्रेष्ठका अनुसार नदीको भौगोलिक बनावट जटिल भएकाले अपेक्षाकृत कठिनाइ आएको हो । निर्माण सम्पन्न गर्न म्याद थप हुने आशा उनले व्यक्त गरे ।
कम्पनीका साइड इन्जिनियर उमेश कार्कीका अनुसार हालसम्म पुल निर्माणको भौतिक प्रगति जम्मा ११ प्रतिशत मात्र छ । पुलका चार वटा पिलरमध्ये वारि र पारिका दुई पिलरमा २४÷२४ गरी ४८ वटा र नदीको बिच भागमा पर्ने दुई पिलरमा १६÷१६ गरी ३२ वटा पाइलिङ आवश्यक पर्छ । यसरी जम्मा ८० वटा पाइलिङ आवश्यक रहे पनि अहिलेसम्म २७ वटा मात्र सम्पन्न भएका छन् ।
पाँच वर्षमा ११ प्रतिशत मात्र प्रगति हुनु आफैँमा गम्भीर विषय भएको स्थानीयको भनाइ छ । यसरी काम अघि बढिरहे नजिकको भविष्यमा पनि पुल सम्पन्न हुने सङ्केत नदेखिएको उनीहरू बताउँछन् ।
पुल नबन्दा जनजीवन प्रभावित
सुनकोशी नदीमा मोटरेबल पक्की पुल नबन्दा सबैभन्दा ठूलो मार स्थानीय सर्वसाधारणले खेप्नुपरेको छ । खोटाङ र उदयपुरबिच सिधा सडक नहुँदा मानिसहरू घुमाउरो र लामो बाटो प्रयोग गर्न बाध्य छन् । यसले यात्राको समय दोब्बर हुनुका साथै सवारी खर्च पनि उल्लेख्य रूपमा बढाएको छ ।
स्थानीय व्यापारीहरूका अनुसार ढुवानी खर्च बढ्दा खोटाङ जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेको छ । चामल, तेल, ग्यासदेखि निर्माण सामग्रीसम्म महँगो हुँदा आम नागरिकको जीवन झनै कष्टकर बन्दै गएको छ ।
स्थानीय व्यापारी सन्तोष राईका अनुसार पुल बनेको भए सामान सिधै ढुवानी गर्न सकिन्थ्यो र खर्च पनि कम हुन्थ्यो । अहिले लामो बाटोका कारण ढुवानी खर्च बढ्दा मूल्य वृद्धि भएको र यसले खोटाङका नागरिकको जनजीवनमा प्रत्यक्ष असर पारेको उनको भनाइ छ । उनका अनुसार पुल समयमा नबन्दा दक्षिणी खोटाङमा निर्माण हुने सरकारी संरचनाको लागतसमेत बढ्दै गएको छ ।
विकासको नाममा लापरबाही
स्थानीय बासिन्दाले आयोजना ढिलाइ हुनुमा निर्माण कम्पनीसँगै सम्बन्धित सरकारी निकायको पनि कमजोरी रहेको आरोप लगाएका छन् ।
ठेक्का सम्झौता भए पनि नियमित अनुगमन र दबाब नहुँदा कम्पनीले कामलाई प्राथमिकता नदिएको उनीहरूको गुनासो छ ।
एक स्थानीय व्यवसायी भन्छन्, “शिलान्यासका बेला ठूला नेता आउँछन्, भाषण गर्छन्, तर पछि फर्केर हेर्दैनन् । काम समयमा नसकिँदा कसैलाई जिम्मेवार बनाइँदैन।”
पाँच वर्षमा ११ प्रतिशत मात्र प्रगति हुनु सामान्य हो कि होइन भन्ने प्रश्न स्थानीयले उठाएका छन् ।
सम्बन्धित निकायले किन निर्माण कम्पनीलाई कडाइका साथ काम गर्न बाध्य बनाएको छैन भन्ने प्रश्न पनि उनीहरूले उठाएका छन् ।
खोटाङ–उदयपुर जोड्ने सुनकोशी नदीको बंशिलाघाटमा निर्माणाधीन मोटरेबल पक्की पुल केवल एउटा भौतिक संरचना मात्र होइन, दुई जिल्लाको आर्थिक, सामाजिक र व्यापारिक विकाससँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण आयोजना हो ।
यसले किसानलाई बजारसँग जोड्ने, व्यवसाय विस्तार गर्ने र दुर्गम क्षेत्रको जीवनस्तर सुधार्ने ठूलो सम्भावना बोकेको थियो ।
तर पुल अधुरै रहँदा स्थानीयको सपना पनि अधुरो बन्दै गएको छ । अब बहानाभन्दा पनि स्पष्ट कार्यतालिका, कडा अनुगमन र छिटो निर्माण कार्य अघि बढाउनुपर्ने स्थानीयको माग छ ।
समयमै काम अघि नबढे यो पुल पनि धेरै सरकारी आयोजनाजस्तै ‘कागजमै सम्पन्न’ हुने हो कि भन्ने चिन्ता खोटाङ र उदयपुरका स्थानीयमा बढ्दै गएको छ ।
प्रतिक्रिया