६० दिनको रस्साकस्सी टुङ्गियो : कांग्रेस महाधिवेशन २६ देखि २८ पुस, काठमाडौंमा

मंगलबार, १६ मंसिर २०८२

काठमाडौँ : लामो रस्साकस्सीपछि अन्ततः नेपाली काँग्रेसको १५औँ महाधिवेशनको मिति टुङ्गो लागेको छ। डेढ महिनादेखि जारी काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशन मिति का बारेमा नेताहरू आ–आफ्नै अडानमा रहेकाले निर्णय हुन बाँकी थियो। संसद् भवन परिसरमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ।

गत असोज २८ गतेदेखि बिच–बिचमा स्थगित हुँदै निरन्तर जारी रहेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले अधिवेशनका लागि आवश्यक सम्पूर्ण कार्यतालिका पनि सार्वजनिक गरेको छ।
काँग्रेसले गाउँ–नगर वडा अधिवेशन पुस १६ मा, गाउँ–नगरपालिका अधिवेशन पुस १७ मा, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ मा गर्नेछ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस २१ मा हुनेछ।

दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस २२ मा, र प्रदेश अधिवेशन पुस २३ र २४ मा गर्ने कार्यतालिका काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन्। यी सबै तहका अधिवेशन सम्पन्न भएपछि पुस २६ देखि २८ सम्म काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन हुने काँग्रेसले जनाएको छ।

बैठकले महाधिवेशन सम्पन्न गर्नका लागि विधान संशोधन मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति तथा केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिने निर्णय पनि गरेको छ। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आवश्यक परामर्शका आधारमा बाँकी प्रक्रिया पूरा गर्ने जिम्मेवारी पाएका छन्।

महाधिवेशन २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि कि पछि गर्ने भन्नेबाहेक काङ्ग्रेसभित्र असमझदारी थियो। संस्थापन पक्ष निर्वाचनपछि गर्ने अडानमा थियो भने संस्थापनइतर समूह नियमित महाधिवेशन निर्वाचनअघि नै गर्नुपर्नेमा अडिग थियो। नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव पनि संस्थापनइतर नेताहरूले अघि सारेका थिए। यही विवादका बिचमा अन्ततः संस्थापन पक्ष लचिलो बनेपछि महाधिवेशन निर्वाचनअघि नै गर्ने सहमति जुटेको काँग्रेसले जनाएको छ।

सभापति देउवाले उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थिए। जेनजी आन्दोलनको क्रममा डुङ्गाले लागेर घाइते भएका देउवा उपचारपछि नेपाल फर्किए पनि केही समय पार्टी बैठकमा सहभागी भएका थिएनन्। उनले कार्यवाहक सभापति खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका नेतालाई पार्टीभित्र देखिएको विवाद समाधान गर्न आग्रह गर्दै आएका थिए।

नेताहरू भेट्न आउनेहरूसँग ‘तपाईँहरू नै विवाद समाधान गर्नुस्’ भन्दै आएका देउवा अन्ततः स्वयम् सक्रिय हुँदै महाधिवेशन मिति टुङ्ग्याएका हुन्।

बैठकमा महामन्त्री थापाले पुस १६ देखि १९ का बिचमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसको प्रतिवादस्वरूप सहमहामन्त्री महेन्द्र यादवले २०८३ साल वैशाख २७ देखि ३० गतेसम्म गर्ने प्रस्ताव गरेका थिए। यादवको प्रस्तावलाई संस्थापन पक्षका नेताहरूले समर्थन गरेका थिए भने थापाको प्रस्ताव संस्थापनइतर नेताहरूको पक्षमा थियो।

नेताहरू यही दुई प्रस्तावका आधारमा धारणा राख्दै आएका थिए। अर्कोतर्फ, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गर्दै विशेष महाधिवेशनको माग पनि अघि सारेका थिए। विधानअनुसार नियमित महाधिवेशन समयमै गर्न नसके विशेष महाधिवेशन आवश्यक हुने बाध्यता रहेकाले अन्ततः संस्थापन पक्षले सहमति जनाउँदै निर्वाचनअघि नै नियमित महाधिवेशन गर्ने निर्णय भयो।

बैठकले महाधिवेशनअघि पूरा गर्नुपर्ने तयारी तथा प्रक्रियासम्बन्धी सम्पूर्ण कार्यतालिका पनि सार्वजनिक गरेको छ। कार्यतालिकामा अधिवेशनको पूर्वतयारी, सङ्गठनात्मक प्रक्रिया, व्यवस्थापन तथा अन्य प्राविधिक कामहरू समेटिएका छन्।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार