धरान : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ उल्टीफुल चौक सडक खण्डमा आज बिहान ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक आज बिहान करिब ५ः३० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए।
दुर्घटनामा सुनसरीको बर्जु गाउँपालिका–१ का ३२ वर्षीय धिरेन्द्र गुरुङ, सोही ठाउँका बर्मदेव गुरुङ, टङ्क गुरुङ, निशु गुरुङ र चन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी बर्जु गाउँपालिका–१ का सुन्दर गुरुङ, बैजनाथ गुरुङ र मानबहादुर गुरुङ सामान्य घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ।
प्रवक्ता खड्काका अनुसार ट्रकमा मार्बल लोड गरी राजविराजतर्फ जाँदै गर्दा सडकको मोड काट्ने क्रममा ट्रक पल्टिँदा लोड गरिएको मार्बलले किचेर उनीहरूको मृत्यु भएको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रतिक्रिया