झापामा पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, १२ जना घाइते

विहीबार, ०१ माघ २०८२

झापा । झापाको कनकाई नगरपालिका–३ नयाँबस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज  बिहान भएको सवारी दुर्घटनामा १ वर्ष ६ महिनाका बालकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

आज (बिहीबार) बिहान करिब ९ः३० बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप (मालबहाक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको यात्रुबाहक बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। 

दुर्घटनामा पिकअप गाडीमा सवार झापा भद्रपुर नगरपालिका निवासी १ वर्ष ६ महिनाका आरुति राजवंशीलाई गम्भीर अवस्थामा बी एण्ड सी अस्पताल बिर्तामोड ल्याइए पनि बिहान १०ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएकामध्ये केहीको बी एण्ड सी अस्पताल बिर्तामोड र केहीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर, तीन जनाको मध्यम र छ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बी एण्ड सी अस्पतालमा उपचाररत घाइतेमा मेचिनगर नगरपालिका–१५ निवासी ६५ वर्षीया फुलमुन्नी मुर्मु, ४२ वर्षीया जमुना राजवंशी, ११ वर्षीय अनिष राजवंशी रहेका छन्, जसको अवस्था सामान्य छ।

त्यस्तै बिर्तासिटी अस्पतालमा उपचाररत घाइतेमा भद्रपुर नगरपालिका–४ निवासी ४० वर्षीय पुस्पलाल राजवंशी, ४० वर्षीय आफुद राजवंशी र उनकी पत्नी ४० वर्षीया सुस्मा राजवंशी रहेका छन्। आफुद र सुस्माको अवस्था गम्भीर रहेको छ। सोही अस्पतालमा भद्रपुर–९ निवासी ४० वर्षीया टेमुना राजवंशी, शिवसताक्षी–१० निवासी २९ वर्षीया अञ्जली राई, बिर्तामोड–३ निवासी २४ वर्षीय अभिषेक राजवंशी, मेचिनगर–१५ निवासी १५ वर्षीया कृतिका राजवंशी र ४५ वर्षीया पाथल राजवंशीको उपचार भइरहेको छ। पाथल राजवंशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न पिकअप चालक बिर्तामोड नगरपालिका–६ निवासी ३९ वर्षीय जाकिर हुसेनलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा लिइएको छ। दुर्घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने बस चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार