इटहरी । भेडेटारबाट धरानतर्फ ओसारपसार भइरहेको ४९ किलो गाँजा संयुक्त प्रहरी टोलीले र बरामद गरेको छ। हिजो (शुक्रबार) राति १०ः२० बजे प्राप्त विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट PIT टोली, इलाका प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी परिचालन गरिएको थियो।
कोशी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका–४ स्थित बौद्ध विहार नजिकै भेडेटारबाट तीव्र गतिमा आइरहेका को ३० प ४५४४ र बा ५१ प ५४१३ नम्बरका दुई मोटरसाइकललाई प्रहरीले रोक्न संकेत गरेको थियो। तर चालकहरूले संकेत नमानी भागेपछि प्रहरीले पछ्याउने क्रममा दुबै मोटरसाइकल सडककिनारमा छाडेर मोटरसाईकल चालकहरु भागेका थिए ।
प्रहरीले तत्काल मोटरसाइकलहरूको चेकजाँच गर्दा बाकस र झोलामा प्याक गरी राखिएको अवस्थामा लागूऔषध गाँजा ४९ किलोग्राम बरामद गरिएको गाँजा र दुबै मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धरानमा नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
फरार भएका चालकहरूको पहिचान खुलेको छैन। उनीहरू कुन समूहसँग जोडिएका थिए, गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ लैजान खोजिएको हो भन्ने विषयमा प्रहरी थप अनुसन्धानमा जुटेको छ।
प्रतिक्रिया