यूएईमा पढ्न पठाइदिने बहानामा ठगी गर्ने पाँच कन्सल्टेन्सी सञ्चालक पक्राउ

बुधबार, ३० पुस २०८२

नुवाकोट : युएईस्थित विभिन्न कलेजमा अध्ययन गर्न पठाइदिने भन्दै रकम लिई ठगी गर्ने विभिन्न कन्सल्टेन्सीका पाँच जना सञ्चालक पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर नगरपालिका–६ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–३१ स्थित वेस्ट पाथ एजुकेसन प्रालिका सञ्चालक २९ वर्षीय कृष्ण थापा, कपिलवस्तु साबिक महेन्द्रकोट गाविस–१ हाल बुद्धभूमि नगरपालिका–४ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–७ नारायणगोपाल चोकस्थित मर्करी एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक रामचन्द्र टन्डन रहेका छन्।

यसैगरी, काठमाडौँ महानगरपालिका–३१ स्थित सिटीहब एजुकेसन नेटवर्क प्रालिका सञ्चालक ३१ वर्षीय सुवास सिलवाल क्षेत्री, दार्चुला साबिक लाली गाविस–८ हाल लेकम गाउँपालिका–२ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटस्थित कान्तिपुर एब्रोड कन्सल्टेन्सी प्रालिका सञ्चालक ४८ वर्षीय हेमराज भट्ट तथा सिन्धुपाल्चोक साबिक राम्चे गाविस–६ हाल बाह्रबिसे नगरपालिका–९ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटस्थित सोही कन्सल्टेन्सीका सञ्चालक ४८ वर्षीय दामोदर ढकाल पक्राउ परेका छन्।

उनीहरूले नेपाली विद्यार्थीहरूलाई फ्रान्स तथा अस्ट्रेलियालगायत मुलुकका विश्वविद्यालयबाट मान्यता प्राप्त युएईस्थित कलेजमा क्रेडिट ट्रान्सफर हुने एकेडेमिक कोर्स अध्ययन गर्न सकिने भनी झुक्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

तर युएईका सबै शैक्षिक संस्थालाई अनुमति दिने उच्च शिक्षा मन्त्रालय अन्तर्गतको निकाय एमओएचईआरएस/कमिसन फर एकेडेमिक एक्रिडिटेसन (सीसीए) बाट स्वीकृति नलिएका ट्रेनिङ इन्स्टिच्युटहरूमा पठाई प्रति व्यक्ति ८ लाखदेखि २२ लाख रुपैयाँसम्म असुलेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अनुसार ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइने तयारी गरिएको छ। हालसम्म १३ जना पीडितको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई उनीहरूलाई पक्राउ गरिएको र आवश्यक अनुसन्धान कार्य भइरहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार