काठमाडौँ : नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी एकता जोगाउन अन्तिम समयसम्म अधिकतम लचकता अपनाएको दाबी गरेका छन्। तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानका कारण सहमतिको प्रयास सफल हुन नसकेको उनको भनाइ छ।
नेता लेखकले सभापति देउवा आफ्नो अधिकार कटौती गर्न समेत तयार रहेको अवस्थामा पनि विशेष महाधिवेशनको अडान नछोडिएकाले कुरा नमिलेको बताए। उनका अनुसार आगामी निर्वाचनमा टिकट वितरणको अधिकारसमेत छोड्न सभापति देउवा तयार भइसकेका थिए।
‘सभापतिजीले टिकट वितरणमा आफूले हस्ताक्षर नगर्ने, संसदीय समिति वा कार्यवाहक सभापतिलाई जिम्मा दिने विषयमा सहमति जनाइसक्नुभएको थियो,’ लेखकले भने, ‘पार्टी नफुटोस् भनेर उहाँले विधानसम्मत अधिकारसमेत त्याग्ने लचकता देखाउनुभयो।’
लेखकका अनुसार संस्थापन पक्ष नियमित महाधिवेशनमार्फत नै नेतृत्व चयन गर्ने पक्षमा रहे पनि अर्को समूहले विशेष महाधिवेशनमै जोड दिएपछि सहमति जुट्न सकेन। ‘हामीले विधि र प्रक्रियाबाटै अघि बढ्ने प्रस्ताव राख्यौँ, तर उहाँहरूले विशेष महाधिवेशनको रटान छोड्नुभएन,’ उनले भने।
तीन महिनादेखि सहमतिको पुलको भूमिका निर्वाह गरेको बताउँदै लेखकले समयको चाप र आपसी बुझाइको अभावका कारण पार्टी विभाजन रोक्न नसकिएको स्वीकार गरे। महामन्त्रीद्वयले पार्टीको विधान र आधिकारिकतालाई चुनौती दिँदै समानान्तर गतिविधि अघि बढाएपछि संस्थापन पक्ष कारबाहीमा जान बाध्य भएको उनको जिकिर छ।
प्रतिक्रिया