झापा । झापा जिल्ला बिर्तामोड नगरपालिका–५ स्थित देबी माध्यमिक विद्यालयमा ‘बिग स्कूल प्रोजेक्ट’ अन्तर्गत निर्माण हुन लागेको नयाँ भवनको शुक्रबार औपचारिक रूपमा शिलान्यास गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका सदस्य रतन राजबंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भवनको शिलान्यास गरेका थिए। कार्यक्रममा पूर्व महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उल्लेख्य उपस्थिति थियो।
नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत सञ्चालन हुने ‘बिग स्कूल प्रोजेक्ट’ अन्तर्गत देबी माध्यमिक विद्यालयमा ६ करोड रुपैयाँको लागतमा भवन निर्माण कार्य अघि बढाइने विद्यालयले जानकारी दिएको छ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले हालै देखिएको २४ घण्टे आन्दोलनमा युवा पुस्तालाई दुरुपयोग गरिएको आरोप लगाए। उनले असंवैधानिक रूपमा सरकार गठन भएको दाबी गर्दै भने, “नयाँ सरकारले प्रारम्भमै राम्रो काम र दीर्घदृष्टियुक्त योजनाहरू खारेज गर्न सुरु गरिसकेको छ।”
त्यसअन्तर्गत बजेट कटौती, भवन उद्घाटन तथा शिलान्यास नगर्ने नीति अवलम्बन गरेर सरकारले गलत मनसाय देखाएको उनको आरोप थियो।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक अंबिका श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन्। त्यसैगरी नेपाल सरकार शिक्षा मन्त्रालयका केन्द्रीय आयोजना कार्यान्वयन इकाईका निर्देशक लक्ष्मीप्रसाद भट्टराई, बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तीलचन भण्डारीलगायतले भवन निर्माण सम्पन्न भएपछि विद्यालयको शैक्षिक वातावरण थप सुदृढ हुने विश्वास व्यक्त गरे।
कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक लीला प्रसाद भण्डारीले गरेका थिए।
प्रतिक्रिया