काठमाडौँ : नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अघि सारेको ‘नीति’लाई केन्द्रमा राख्दै सभापति शेरबहादुर देउवाको समर्थनसहितको नेतृत्वलाई कायम राखेर अघि बढ्ने मध्यमार्गी सहमतिबिन्दुतर्फ उन्मुख देखिएको छ । विशेष महाधिवेशनको दोस्रो दिन सोमबार समूहगत छलफलमा उठेका विषयहरू व्यवस्थापन गर्दै अनुपस्थित संस्थापन समूहलाई समेत समेट्ने प्रयासस्वरूप मध्यमार्गी विकल्प खोजी गरिएको हो ।
निर्वाचनको पूर्वसन्ध्यामा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल विभाजनको सँघारमा पुगेको भन्दै विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधर नेताहरू मिलनबिन्दुको खोजीमा जुटेका हुन् । पार्टी विभाजन भएर ‘प्रजा परिषद्’जस्तो अवस्था नआओस् भन्ने चिन्तासहित सोमबार साँझ काँग्रेसका अग्रज नेता डा. शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेताहरू सक्रिय बनेका छन् ।
मध्यमार्गी छलफलमा उठाइएका प्रमुख प्रस्तावहरू यस्ता छन्–
– बढीमा दुई पटक प्रधानमन्त्री
– पार्टीभित्र ‘प्राइमरी’ निर्वाचन
– निर्वाचनअघि ‘नो गठबन्धन’
– समानुपातिकतर्फबाट एक पटकमात्र सांसद
– केन्द्रीय समितिमा ४० वर्षमुनिका ४० युवा
– कर्मचारीका लागि ‘कुलिङ अफ पिरियड’
– गैरआवासीय नेपालीलाई नागरिकता र मताधिकार
– पार्टीभित्र आन्तरिक सुशासन आयोग
विशेष महाधिवेशनको कार्यतालिका मङ्गलवार (आज)सम्म लम्ब्याएर महामन्त्री थापा सभापति शेरबहादुर देउवासँग वार्तामा बसेका छन् । पार्टी एकताका लागि तयार पारिएको मध्यमार्गी प्रस्तावसहित वार्ता हुने काँग्रेस नेता शशाङ्क कोइरालाले जानकारी दिए । विशेष महाधिवेशन प्रतिनिधिहरूले तत्काल नीतिसहित नेतृत्व परिवर्तनको माग गरे पनि गगन–विश्वप्रकाशले अघि सारेको नीति पारित गर्दै सभापति देउवालाई समेत समेट्नेगरी अन्तरिम अवधिका लागि मध्यमार्गी नेतालाई कार्यवाहक जिम्मेवारी दिने सम्भावना बढेको छ ।
आगामी वैशाखमै महाधिवेशन गर्ने र त्यसअघि हुने फागुन २१ गतेको निर्वाचनका लागि टिकट वितरणलगायत विषयमा सहमति जुटाउने गरी केही प्राविधिक पक्षसमेत समेटेर मध्यमार्गी प्रस्ताव तयार हुने सम्भावना रहेको काँग्रेस उच्च स्रोतले जनाएको छ । विशेष महाधिवेशनलाई ‘नीति महाधिवेशन’का रूपमा केन्द्रीय समितिबाट अनुमोदन गराउने र वैशाखको महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने विषयमा सहमति बने समापन समारोह एकताको सन्देशसहित सम्पन्न गर्ने तयारी भइरहेको बताइएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि सुरु विशेष महाधिवेशनको दोस्रो दिन सोमबारको बन्दसत्रमा महामन्त्रीद्वय विश्वप्रकाश शर्माले ‘साङ्गठनिक प्रस्ताव’ र गगनकुमार थापाले ‘समसामयिक राजनीतिक प्रस्ताव’ पेस गर्दै “काँग्रेसलाई अबको युगको आशाको गन्तव्य बनाउनुपर्ने” मार्गचित्र प्रस्तुत गरेका छन् । दुवै प्रस्तावमाथि छलफल गर्न नौ समूह गठन गरिएका छन् । समूहगत निष्कर्ष मङ्गलवार (आज) बन्दसत्रमा प्रस्तुत गरिनेछ ।
समूहगत निष्कर्षपछि विशेष महाधिवेशन विशेष निर्णय गर्दै सम्पन्न हुनेछ । छलफलका मुख्य विषय समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार तथा विधान संशोधन रहेका छन् । सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी नभएपछि बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमार खड्काले गरेका छन् ।
महामन्त्री विश्वप्रकाश शर्माले ‘बदलिएको देश, बदल्नुपर्ने काँग्रेस’ शीर्षकमा साङ्गठनिक प्रस्ताव पेस गर्दै ‘वान–टु–थ्री–फोर’ सूत्र अघि सारेका छन् । प्रस्तावअनुसार एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद हुन पाउने व्यवस्था प्रस्ताव गरिएको छ । भविष्यमा कोही पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीति काँग्रेसले अवलम्बन गर्नुपर्ने र त्यसलाई संविधानमै सुनिश्चित गर्न पहल गर्ने उल्लेख छ ।
महामन्त्री गगन थापाले ‘समसामयिक राजनीतिक प्रस्ताव’ पेस गर्दै पपुलिजम र अराजकतावादी प्रवृत्तिले लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती थपेको उल्लेख गरेका छन् । लोकतन्त्र चमत्कार नभई निरन्तर चलिरहने प्रणाली, विधि र प्रक्रिया भएको उनले स्पष्ट पारे । जेन–जी आन्दोलनले उठाएका सुशासन, सेवा प्रवाह र युवाको अर्थपूर्ण प्रतिनिधित्वका मागलाई काँग्रेसले दृढतापूर्वक आत्मसात् गर्ने प्रतिबद्धता प्रस्तावमा समेटिएको छ ।
साथै, विशेष महाधिवेशन वैधानिक रहेको दाबी गर्दै संविधान, कानुन र निर्वाचन आयोगबाट यसलाई अवैधानिक ठहर गर्न नसकिने जिकिर पनि थापाले गरेका छन् ।
प्रतिक्रिया