बन्दसूचीमै भाँडभैलो : समानुपातिकतर्फ ६१ को नाम फिर्ता

मंगलबार, २९ पुस २०८२

काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ १७ राजनीतिक दलका ६१ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। राजनीतिक दलभित्रका आन्तरिक विवाद तथा केही क्लष्टर नमिलेकै कारण यति ठुलो सङ्ख्यामा उम्मेदवारी फिर्ता भएको हो।

निर्वाचन आयोगले मनोनयन फिर्ताका लागि दिएको समय सोमबार साँझ सकिएको छ। आयोगका अनुसार आवश्यक कागजात परीक्षण गरी उम्मेदवारी फिर्ता लिने दल र उम्मेदवारहरूको नामावली मङ्गलवार सार्वजनिक गरिनेछ। सहायक प्रवक्ता सीता पुन श्रीषले उक्त जानकारी दिइन्।

प्रतिनिधिसभा निर्वाचनका लागि बन्दसूची पेस गरेका राजनीतिक दलहरूभित्र देखिएको विवादका कारण पनि उम्मेदवारी फिर्ता लिनेको सङ्ख्या बढेको हो।

पुराना दलहरूले समानुपातिक सूचीमा नेताका नजिकका व्यक्ति, आफन्त तथा व्यापारीहरूलाई प्राथमिकता दिएको आरोप लाग्दै आएको छ। यस्तै, नयाँ तथा साना भनिएका दलहरूमा समेत समानुपातिक सूचीलाई लिएर व्यापक विवाद देखिएको छ।

समानुपातिकतर्फ सबैभन्दा धेरै उम्मेदवारी फिर्ता गर्ने दल जनमत पार्टी रहेको छ। जनमत पार्टीका २० जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन्।

दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ, जहाँबाट १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२ जना, नेकपा एमालेका ५ जना तथा विप्लव नेतृत्वको नेकपा माओवादीका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निवेदन दिएका दल तथा उम्मेदवारहरूलाई मङ्गलवार उम्मेदवारी फिर्ताको औपचारिक जानकारी दिइनेछ। फिर्ता भएका स्थानमा माघ २ गतेसम्म नयाँ उम्मेदवारको नाम पेस गर्न सकिनेछ भने माघ ४ गते बन्दसूचीको प्रारम्भिक नामावली सार्वजनिक गर्ने कार्यसूची तय भएको छ।

रास्वपामा सूची विवाद

समानुपातिक प्रणालीतर्फ रास्वपाले पेस गरेको सूचीमा सेलिब्रेटीदेखि व्यापारी र पहुँचवालाहरू समावेश गरिएको भन्दै पार्टीभित्रै विरोध चर्किएको छ। एकता प्रक्रियाबाट आएका उज्यालो नेपाल पार्टी (उनेपा) र विवेकशील साझा पार्टीका प्रतिनिधिहरूले असन्तुष्टि जनाउँदै उम्मेदवारी फिर्ता गरेका छन्।

प्राइमरी निर्वाचनमा सर्वाधिक मत ल्याएकी चर्चित नेतृ रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन्। उनलाई १०औँ स्थानमा राखिएको विषयमा असन्तुष्टि जनाउँदै उनले प्रतिनिधिमार्फत नाम फिर्ता गराएकी हुन्।

जनमत पार्टीका २० जनाको फिर्ता

जनमत पार्टीका तर्फबाट पेस गरिएको सूचीका १९ जनाले सामूहिक रूपमा उम्मेदवारी फिर्ता लिएका छन्। समानुपातिकतर्फ खस आर्य समूहमा आर्थिक चलखेल भएको आरोप लगाउँदै उनीहरूले पार्टी परित्याग गर्ने घोषणा गरेका छन्। खस आर्य महिला सङ्घकी संयोजक लक्ष्मी खड्काले समानुपातिकमा पैसा लिएर नाम राखिएको आरोप लगाउँदै पार्टी त्याग्ने बताएकी छन्।

राप्रपामा कुटाकुट र विवाद

राष्ट्रिय प्रजातन्त्र पार्टीमा समानुपातिक सूचीलाई लिएर महिला नेतृहरूबिच चर्को विवाद भएको छ। पार्टी कार्यालयमै कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद झन् चर्किएको हो। विवादका कारण राप्रपाबाट उम्मेदवारी फिर्ता गर्नेको सङ्ख्या १० पुगेको छ।

नेकपामा पुस्तागत विवाद

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा युवा पुस्ताका नेताहरू हटाएर नेताका पत्नी तथा शीर्ष नेताहरूलाई प्राथमिकता दिइएको भन्दै असन्तुष्टि देखिएको छ। जेन–जी प्रतिनिधि मानिने नेतृ पञ्चा सिंहको नाम हटाइएपछि विवाद चुलिएको हो।

उम्मेदवारी दर्तासँगै पद स्वतः खारेज

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने बहालवाला जनप्रतिनिधिको पद मनोनयन दर्ता भएसँगै स्वतः खारेज हुने स्पष्ट पारेको छ। आयोगका अनुसार प्रत्यक्ष वा समानुपातिक दुवै प्रणालीअन्तर्गत उम्मेदवारी दर्ता भएपछि सङ्घीय, प्रदेश वा स्थानीय तहका जनप्रतिनिधि पद स्वतः समाप्त हुनेछन्।

 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार