निर्वाचन सुनिश्चित भएपछि दलहरू सक्रिय: फागुन २१ को चुनावमा को–को उठ्दैछन्?

पुरानै अनुहारलाई ‘लोकप्रिय’ ठान्दै दलहरू

मंगलबार, २२ पुस २०८२

काठमाडौँ : प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले उम्मेदवार छनोटको कामलाई तीव्रता दिएका छन्। निर्वाचनमा भाग लिने दलहरूले समानुपातिक उम्मेदवार मनोनयनसँगै फागुन २१ को निर्वाचनको माहौल तताएका छन्।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार माघ ६ गते प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गर्ने समय तोकिएकाले दलहरू त्यसअगावै आन्तरिक प्रक्रिया पूरा गरी आधिकारिक मनोनयन दर्ता गराउनुपर्ने दबाबमा छन्।

सोहीअनुसार प्रमुख ठुला दुई दल नेपाली काँग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १ सय ६५ वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उठाउने उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्।

एमालेमा १३ पुसको केन्द्रीय सचिवालय बैठकको सर्कुलरअनुसार गत बिहीबारदेखि निर्वाचन क्षेत्रस्तरबाट सिफारिसको काम तीव्र रूपमा भइरहेको छ।

विघटित प्रतिनिधि सभाको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आन्तरिक आवेदन र प्राइमरी निर्वाचनमार्फत उम्मेदवार छनोट गरिरहेको छ। निर्वाचन प्रचार अवधिलाई ध्यान दिँदै प्रत्यक्षतर्फका उम्मेदवार छनोट प्रक्रिया टुङ्ग्याउनुपर्ने चापमा रहेका दलहरूका लागि अब १३ दिन मात्रै समय बाँकी छ।

सरकार र निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा तोकिएकै समयमा सम्पन्न गराउने प्रतिबद्धता जनाउँदै दलहरूसँग पटक–पटक छलफल गरिसकेका छन्। यससँगै निर्वाचन हुने विषयमा दलहरू पनि क्रमशः ढुक्क हुँदै गएका छन्।

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार र निर्वाचन आयोगले निर्वाचन हुने गरी काम गरिरहेकाले फागुन २१ मै निर्वाचन हुने विश्वास व्यक्त गरे।

पूर्वगृहमन्त्रीसमेत रहेका सिटौलाले भने, ‘राजनीतिक दलहरू निर्वाचनप्रति सशङ्कित थिए। तर आयोग र सरकारले निर्वाचन हुने विश्वास दिलाएपछि अब दलहरू तयारीमै लाग्नुपर्ने अवस्था आएको छ। त्यसका लागि काँग्रेस उम्मेदवार छनोटको काममा जुटेको छ।’

काँग्रेसले अघिल्लो निर्वाचनमा निर्वाचित नेताहरूलाई नै प्राथमिकता दिने विषयमा छलफल केन्द्रित भएको स्रोतको दाबी छ। यद्यपि, उम्मेदवार सिफारिस गर्दा व्यक्तिको लोकप्रियता, योगदान, क्षमता, जित्ने सम्भावना र सामाजिक छविलाई समेत विशेष मापदण्ड बनाइएको काँग्रेसले जनाएको छ।

एक निर्वाचन क्षेत्रबाट एक महिलासहित तीन जनाको नाम सिफारिस गर्ने मापदण्ड भए पनि कतिपय क्षेत्रबाट २५–३० जनासम्मको नाम केन्द्रमा सिफारिस भएर आएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

ती नामहरूबाट एक जनालाई टिकट दिनुपर्ने भएकाले तल्लो तहकै समितिले केन्द्रमाथि बोझ थपेको केन्द्रीय कार्यसम्पादन समिति सदस्य बलबहादुर केसीले बताए।

तीन जना मात्रै पठाउन गरिएको परिपत्रलाई बेवास्ता गर्दै ३० जनासम्मको नाम सिफारिस हुँदा केन्द्रीय समितिमाथि नेताहरू मिलाउने दबाब बढेको उनको भनाइ छ। उम्मेदवार छनोटको अन्तिम जिम्मेवारी कार्यसम्पादन समितिलाई दिइएको छ।

जेन–जी आन्दोलनपछि विकसित राजनीतिक परिदृश्यअनुसार निर्वाचन जित्न सक्ने व्यक्ति छनोट गर्नुपर्ने दबाब बढेको नेपाली काङ्ग्रेसकी नेता डा. डिला सङ्ग्रौलाले बताइन्।

‘अहिले नयाँ र पुराना भन्ने भाष्य निर्माण गरिएको छ। तर कुन पार्टीले के योगदान गरेको छ भन्ने नहेरी पपुलिस्ट धारलाई रोज्ने अवस्था देखिएको छ,’ उनले भनिन्, ‘त्यसैले ठुला दलहरूले पनि समाजमा भिजेका, लोकप्रिय र जित्ने सम्भावना भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्छ।’

पुराना दलका शीर्ष नेता काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको नाम एकल सिफारिस भएको छ। देउवाको डडेलधुरा, ओलीको झापा–५, प्रचण्डको कालिकोट र नेपालको रौतहट–२ बाट एकल सिफारिस आएको छ।

नेकपा एमालेले केन्द्रीय कमिटीले बनाएको मापदण्डअनुसार नै उम्मेदवार सिफारिस आइरहेको जनाएको छ। पार्टी सचिव महेश बस्नेतले सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि अन्तिम निर्णय हुने बताए। ‘यसपटक एमालेले जेन–जीको भावना बुझेर भूगोलमा खटेर काम गरेका पुराना र नयाँ लोकप्रिय नेतालाई उम्मेदवार बनाउनेछ,’ उनले भने।

जेन–जी आन्दोलनका कारण युवापुस्ताको प्रतिनिधित्वबारे बहस भइरहँदा दलहरू समानुपातिक बन्दसूचीमा समेत लोकप्रियतावादमा केन्द्रित देखिएका छन्।

नयाँ दल भनिएको रास्वपाले प्रत्यक्षतर्फ उमेरभन्दा पनि लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिएको जनाएको छ। रास्वपाका प्रवक्ता मनीष झाले भने, ‘सामाजिक कार्यमा सक्रिय, परिवर्तनका पक्षधर र जनतामाझ लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाइन्छ।’

रास्वपा आगामी सरकारको प्रधानमन्त्री बालेन शाहलाई घोषणा गरेर निर्वाचनमा जाने तयारीमा रहेको देखिन्छ।

सभापति रवि लामिछानेले सोमबार आयोजित राजनीतिक समायोजन कार्यक्रममा डा. स्वर्णिम वाग्लेलाई आगामी बजेट लेखन सुरु गर्न आग्रह गरेपछि उनलाई अर्थमन्त्री बनाउने तयारी भइरहेको बुझिन्छ। तर पार्टीले सरकार बनाउन सक्ने सिट ल्याउने ठोस आधार भने अझै प्रस्ट देखिँदैन।

उता, राप्रपाले अधिकांश निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारको नाम समानुपातिकसँगै केन्द्रमा मगाइसकेको महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए। समानुपातिक बन्दसूची सच्याउने समय निर्वाचन आयोगले पुस २७ सम्म तोकेको छ।

आयोगले समयमै निर्वाचन गर्न सकिने प्रतिवेदन बुझाएपछि दलहरू उम्मेदवार छनोटलगायत तयारीमा जुटेका हुन्। निर्वाचनकै कारण काँग्रेसले पार्टी महाधिवेशनसमेत सारेको छ।

एकल सिफारिस र प्राथमिकता हेर्दा काँग्रेस, एमाले र नेकपाले अघिल्लो निर्वाचनमा जितेका सांसदलाई पुनः टिकट दिन खोजेको देखिन्छ भने रास्वपाले चर्चित अनुहार र अन्य दलबाट विद्रोह गरेर आएका नेतालाई प्राथमिकता दिएको छ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार