काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम र दुर्गम जिल्लाका लागि फरक–फरक खर्च सीमा निर्धारण गरेको हो ।
आयोगका अनुसार काठमाडौँका पाँच निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । ती क्षेत्रहरूमा काठमाडौँ क्षेत्र नं. १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ निर्वाचन क्षेत्रका उम्मेदवारका लागि अधिकतम २७ लाख रुपैयाँ खर्च सीमा निर्धारण गरिएको छ ।
त्यस्तै, ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म र २६ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिएका हुन् ।
प्रवक्ता भट्टराईका अनुसार उम्मेदवारले निर्वाचन खर्च गर्न बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्नेछ र सम्पूर्ण खर्च सोही खातामार्फत गर्नुपर्नेछ । खर्च गर्दा उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम–नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था छ ।
उम्मेदवारले तोकिएको खर्च सीमाभित्र रही निर्वाचन खर्च गर्नुपर्नेछ । साथै, प्रतिनिधिसभा सदस्य ऐनअनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
प्रतिक्रिया