निर्वाचनमा ‘क्लिन इमेज’को खोजी: उम्मेदवारका लागि निर्वाचन आयोगले ल्याएको मापदण्डमा के छ?

आइतबार, ०६ पुस २०८२

काठमाडौँ : २१ फागुनमा तय भएको प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोग उम्मेदवारको योग्यता र स्वघोषणा गर्नुपर्ने विषयमा केन्द्रित भएको छ । ताकि, स्वच्छ र निष्पक्ष व्यक्ति सांसद बन्न सकुन् । निर्वाचन आयोगले उम्मेदवारले स्वघोषणा गर्नुपर्ने विषयहरूको मस्यौदा तयार पारेको छ । जसमा भ्रष्टाचार, गैरकानुनी लाभ, आर्थिक अपराधसम्बन्धी अनुसन्धानमा नरहेको हुनुपर्नेलगायतका विषय छन् ।

‘कुनै भ्रष्टाचार जन्य कसुरमा अनुसन्धानमा नरहेको तथा सो कसुरमा मुद्दा दायर नभएको वा सुरु अदालतबाट भ्रष्टाचार ठहर भई पुनरावेदनको रोहमा मुद्दा विचाराधीन नरहेको’ प्रस्तावित स्वघोषणामा उल्लेख छ ।

यसका अलावा कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकायको फैसलाबाट ठहर भएको कैद वा जरिमाना असुलउपर हुन बाँकी नभएको, अन्तिम लेखा परीक्षणबाट रकम असुल गर्नुपर्नेगरी व्यक्तिगत रूपमा बेरुजु कायम नभएको, प्रचलित कानुनबमोजिम पक्राउ पुर्जी जारी भएकोमा पक्राउ हुन नसकी फरार नरहेको लगायतका विषय समेटिएका छन् ।

प्रचलित कानुनबमोजिम कुनै सरकारी निकायलाई बुझाउनुपर्ने कर, राजस्व, शुल्क, दस्तुर तिर्न बुझाउन बाँकी नरहेको विषय पनि स्वघोषणामा छ ।

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहद्वारा कार्यान्वयन हुने वा भइरहेका विकास निर्माणका कार्यमा बोलकबोल भई ठेक्का सम्झौता भएको अवस्थामा तोकिएको समयमा कार्य सम्पन्न नगरी त्यस्तो निर्माणको काममा बाधा व्यवधान नपुर्‍याएको हुनुपर्ने भनिएको छ ।

निर्वाचन आयोगले तय गरेअनुसार सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउनेगरी कुनै लाभको पद धारण नगरेको, अन्य कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारका लागि मनोनयनपत्र दर्ता नगरेको, कुनै पनि सरकारी निकायलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, सरकारी पेस्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेकोलगायतका विषयमा समेत स्वघोषणा गर्नुपर्ने हुन्छ ।

यसरी एकातिर निर्वाचन आयोगले भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा रहेका व्यक्तिलाई समेत चुनावमा उम्मेदवार हुन रोक्ने प्रयासमा छ । अर्कोतिर राजनीतिक दलहरू पनि सकभर विवादित र आरोपित पात्रलाई निर्वाचनमा उम्मेदवार नबनाउने नीतिमा देखिन्छन् । 

नेपाली कम्युनिस्ट पार्टीले शनिवार मात्रै यही पुस ११ भित्र उम्मेदवारको नाम सिफारिस गर्न आन्तरिक विशेष परिपत्र जारी गरेको छ ।

अबको सम्पूर्ण ध्यान निर्वाचन र उम्मेदवार चयनमा केन्द्रित गर्दै आन्तरिक परिपत्र गरेको नेकपाले उम्मेदवार बन्न कडा योग्यता र पारदर्शी मापदण्ड तय गरेको छ ।  उम्मेदवारको नैतिक र आर्थिक आचरणमा नेकपाले कुनै सम्झौता नगर्ने भनिएको छ ।

जसअन्तर्गत अदालतबाट भ्रष्टाचारमा दोषी ठहरिएका, कर वा राजस्व नतिरेका र कुनै पनि प्रकारको कालोसूचीमा परेका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् । साथै, वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन, घरेलु हिंसा वा यौन उत्पीडनजस्ता नैतिक पतन देखिने मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई पनि उम्मेदवारको दौडबाट बाहिर राखिएको छ । 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार