भारतको तमिलनाडुमा जीवन बीमाको रकम हत्याउनकै लागि बाबुलाई जानाजानी विषालु सर्पले टोकाएर हत्या गरिएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ।
प्रहरीका अनुसार ५६ वर्षीय ई.पी. गणेशनको मृत्यु सामान्य दुर्घटनाजस्तो देखिए पनि अनुसन्धानपछि यो योजनाबद्ध हत्या भएको खुलेको हो। यस घटनामा संलग्न आरोपमा गणेशनका दुई छोरा पक्राउ परेका छन्।
गणेशन तमिलनाडुको एक सरकारी विद्यालयमा प्रयोगशाला सहायकका रूपमा कार्यरत थिए। गत अक्टोबरमा उनको शव पोथातुरापेट्टई गाउँस्थित घरमै भेटिएको थियो। परिवारले सर्पको टोकाइका कारण मृत्यु भएको दाबी गरेपछि प्रहरीले सुरुमा त्यसलाई सामान्य घटना मानेको थियो । तर मृतकका छोराहरूले बिमा रकम दाबी गर्न निवेदन दिएपछि बिमा कम्पनीले लाभग्राहीको व्यवहार शंकास्पद देखिएको भन्दै प्रहरीलाई जानकारी गराएको थियो।
यसपछि सुरु भएको विस्तृत अनुसन्धानमा छोराहरूले बाबुको नाममा झण्डै ३ करोड भारतीय रुपैयाँ बराबरको जीवन बीमा गराएको खुलासा भएको छ। प्रहरीका अनुसार उनीहरूले योजनाबद्ध रूपमा विषालु सर्पको प्रयोग गरी बाबुको हत्या गर्ने योजना बनाएका थिए। हत्या हुनुभन्दा करिब एक साताअघि गणेशनको कोठामा कोब्रा सर्प हालेर टोकाउने प्रयास गरिएको थियो तर गणेशन बाँच्न सफल भएपछि योजना असफल भएको थियो।
पहिलो प्रयास असफल भएपछि छोराहरूले फेरि विषालु करेत सर्पको व्यवस्था गरी गणेशनको घाँटीमा टोकाएको प्रहरीको भनाइ छ। त्यसपछि प्रमाण नष्ट गर्न घरभित्रै सर्प मारेको र विषको असर देखिँदा अस्पताल लैजान ढिलाइ गरिएको अनुसन्धानमा खुलेको छ।
प्रहरीले यस घटनामा गणेशनका दुई छोरासहित हत्या योजनामा सहयोग गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया