विराटनगर : सुरक्षाकर्मी व्यापक परिचाल गर्दै मोरङको सुरक्षा व्यवस्था कडा पारिएको छ । तिहारलाई लक्षित गरेर ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
ठाउँ–ठाउँमा सादा पोसाकका प्रहरी पनि खटाइएको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले तिहार पर्वलाई लक्षित गरेर सुरक्षा सतर्कता बढाइएको जानकारी दिए । जताततै हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व तिहारको रौनक छ । छठलगायतका पर्व पनि नजिकिँदैछन् । चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ,’ उनले भने ।
चाडपर्वका समयमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी सचेत रहेको र त्यही हिसाबको सक्रियता बढाइएको उनको भनाइ छ । विशेष सतर्कता अपनाउन र सुरक्षा कडाइमा ध्यान दिन प्रहरीलाई निर्देशन दिएर एसपी कटवाल आफैं फिल्डमा निस्किने गरेका छन् । कटवालले चोरी तस्करी, अवैध धन्दा तथा सीमा अपराध नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रको नियमित अनुगमन पनि गरिरहेका छन् । चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन मातहतका युनिटलाई निर्देशन दिएका छन् ।
मोरङका सशस्त्र प्रहरी प्रमुख एसपी राजेश घिमिरे पनि आफैं फिल्डमा निस्किने गरेका छन् । विशेष गरेर सशस्त्र प्रहरीले सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ । साथै, चाडपर्वलाई लक्षित गरेर नेपाल प्रहरीलगायतका निकायसँग समन्वय गर्दै उचित सुरक्षा व्यवस्था मिलाउन सशस्त्र खटिएको एसपी घिमिरेको भनाइ छ ।
चाडपर्वलाई उल्लासमय एवं हर्षोल्लासपूर्ण, भयरहित, मर्यादित र सुरक्षित बनाउन सबै उपाय अवलम्बन गरिएको मोरङका एसपी कटवालको भनाइ छ । उनका अनुसार जिल्लाभर प्रहरी सक्रियता व्यापक बनाइएको छ । ‘ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मर्यादाभित्र रहेर चाडपर्व मनाउने वातावरण बनाउन अन्य सुरक्षा निकायसँग पनि समन्वय गरिएको छ । चाडपर्वलाई अपराधरहित बनाउन प्रहरी अहोरात्र खटिएको छ,’ एसपी कटवाल भन्छन् ।
चाडपर्व लक्षित विशेष सुरक्षा व्यवस्था मिलाउँदै त्यही अनुसार जनशक्ति परिचालन गरिएको उनको भनाइ छ । नेपालीको सांस्कृतिक पहिचान बोकेको पर्वलाई मर्यादित तवरबाट रमाइलो र हर्षोल्लासपूर्ण बनाउन प्रहरीले कुनै कसर बाँकी नराख्ने उनले बताए । ‘जनताले निडर, सुरक्षित र भयरहित वातावरणमा पर्व मनाउन पाउने वातावरण तयार पार्ने दायित्व प्रहरीकै हो,’ कटवाल भन्छन् ।
पर्वको अवसरमा हुने चोरी, तस्करी, कालोबजारी, मदिरा तथा लागुऔषध ओसारपसार, जुवातास, झैझगडालगायतका अपराधलाई प्रहरीले मुख्य सुरक्षा चुनौतीका रूपमा लिएको छ । ‘उत्सवको नाममा अपराधको बढोत्तरी हुने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी सजग, संवेदनशील र उत्तरदायी भएर खटिएको छ । कानुनविपरीतका गतिविधि गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याइने छ,’ उनी भन्छन् ।
आफ्नो सुरक्षामा सर्वसाधारण स्वयं सचेत हुनुपर्ने बताउँदै एसपी कटवालले कुनै घटना हुन लागेमा वा शंकास्पद गतिविधि भएमा तत्काल प्रहरीलाई खबर गर्न सबैलाई आग्रह गरेका छन् । सीमा क्षेत्रमा निगरानी बढाउँदै चोरी, तस्करी र अवैध मदिरा तथा लागुऔषधको ओसारपसार रोक्न जनशक्ति परिचालनलाई प्रभावकारी बनाइएको एसपी कटवाल बताउँछन् ।
तिहारलाई लक्षित गरेर सादा पोसाकमा प्रहरी खटाउँदै र सीसीटीभीको निगरानी गर्दै आकस्मिक प्रतिक्रिया टोलीलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ । पर्वमा सवारी दुर्घटना बढ्ने सम्भावनालाई मध्यनजर गर्दै क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधन र मादक पदार्थ सेवन ९मापसे० गरी गाडी चलाउनेलाई कारबाहीको दायरामा ल्याउने प्रहरीको तयारी छ । ‘जोखिमयुक्त मार्गहरूमा प्रहरीको उपस्थिति बलियो बनाइएको छ । ठाउँ–ठाउँमा खटिएका प्रहरीले चेकजाँच व्यापक बनाएका छन्,’ कटवालले भने ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बजारमा कृत्रिम अभाव सिर्जना गरी मूूल्यवृद्धि गर्ने तथा वस्तुको कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए । उपभोक्तालाई उपभोग्यलगायतका वस्तुको सहज उपलब्धता तथा वस्तुको कालोबजारी रोक्न जिल्ला प्रशासन, प्रहरी, उद्योगी, व्यापारीलगायतका सरोकारवाला निकायको समन्वयमा निगरानी बढाइएको जानकारी उनले दिए ।
‘मेला, पूजास्थल, संगम तथा भिडभाड हुने स्थानहरूमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ,’ प्रजिअ यादवले भने, ‘बैंक, सुनचाँदी पसल, बजार क्षेत्र र सार्वजनिक स्थलहरू उच्च निगरानीमा छन् ।’ चाडपर्वका बेला नागरिकको जीवन र सम्पत्तिको रक्षामा स्थानीय प्रशासनले भूमिका खेल्ने जानकारी उनले दिए ।
जिल्लामा कुनै अप्रिय घटना हुन नदिन संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मजबुत पारिएको प्रजिअ यादवको भनाइ छ । चाडपर्वलाई मर्यादित र हर्षोल्लासपूर्ण बनाउन नागरिकहरूलाई सचेत पार्ने र समुदायलाई प्रेरित गर्ने काम गरिएको उनले बताए ।
‘जनताले विश्वास बढाउने गरी सुरक्षा कडाइ गरिएको छ । हरेक नागरिकले शान्त, सुरक्षित र उल्लासपूर्ण वातावरणमा पर्व मनाउने वातावरण बनाइएको छ,’ प्रजिअ यादवले भने । तिहारको उज्यालोसँगै सर्वसाधारणले निडर र सुरक्षित तवरबाट चाडपर्व मनाउने परिस्थिति बनाउन प्रशासनले सबै उपाय लगाएको उनी बताउँछन् ।
प्रतिक्रिया