माई नगरपालिकाद्वारा ९०९ बाढीपीडित परिवारलाई राहत वितरण हुने

सोमबार, ०३ कार्तिक २०८२

इलाम : माई नगरपालिकाले बाढी–पहिरो प्रभावित नौ सय नौ परिवारलाई करिब १ करोड २९ लाख ३ हजार रुपैयाँ बराबरको राहत वितरण गर्ने भएको छ । माई नगरपालिकाको १९औं विशेष नगरसभाले यो निर्णय गरेको हो ।

नगर प्रमुख खम्बासिंह लिम्बूका अनुसार कृषि बालीमा क्षति पुगेका ९०९ घरधुरीलाई प्रति परिवार १२ हजार रुपैयाँका दरले गरी १ करोड ९ लाख ८ हजार रुपैयाँ राहत उपलब्ध गराइनेछ । त्यसैगरी, कृषि तथा पशुपंक्षीमा क्षति भएका २५ घरधुरीलाई २५ हजार रुपैयाँका दरले ३ लाख २० हजार रुपैयाँ राहत वितरण गरिनेछ ।

घर पूर्ण रूपमा क्षति भएका १६ परिवारलाई २० हजारका दरले ३ लाख २० हजार रुपैयाँ वितरण गरिने र ९० परिवारलाई घर आंशिक क्षति भई विस्थापित भएकाले १५ हजारका दरले राहत प्रदान गरिने निर्णय नगरसभाले गरेको छ ।

नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण भुर्तेलका अनुसार पूर्ण र आंशिक रूपमा विस्थापित ८८ परिवारलाई यसअघि नै राहत वितरण भइसकेको छ भने बाँकी १८ परिवारलाई चाँडै वितरण गर्ने तयारी भइरहेको छ ।

यसबाहेक, घर पूर्ण रूपमा क्षति भएकाहरूको घर पुनर्निर्माण वा जग्गा खरिदमा २० प्रतिशतसम्म नगरपालिकाले साझेदारी गर्ने योजना पनि रहेको माई नगरपालिकाले जनाएको छ ।

१९औं नगरसभामा, अघिल्लो १८औं नगरसभाबाट पारित विभिन्न कार्यक्रमहरू संशोधन गर्दै ३ करोड २ लाख ७२ हजार रुपैयाँ बराबरको कार्यक्रम परिमार्जन गरिएको छ । उक्त नगरसभा नगर प्रमुख खम्बासिंह लिम्बूको अध्यक्षता, उपमेयर हिमा भण्डारीद्वारा नीति तथा कार्यक्रम प्रस्तुति र प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराईको समन्वयमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार