सुन्दरहरैंचा : नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशले आफ्नै स्थायी भवन निर्माणतर्फ महत्वपूर्ण कदम चालेको छ । महासंघको प्रदेशस्तरीय भवन निर्माणका लागि मोरङको सुन्दरहरैंचा नगरपालिका–२, मृगौलियास्थित फ्युचर कोलोनी एण्ड रियल स्टेट परिसरमा आज शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष तथा निर्देशक अरुण कुमार प्रधानको जन्मोत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा फ्युचर कोलोनी एण्ड रियल स्टेटले महासंघलाई १० धुर जग्गा उपलब्ध गराउने र सोही स्थानमा एकतले भवन निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रमको संयोजन फ्युचर कोलोनी एण्ड रियल स्टेटका प्रबन्धक याम लामाले गरे ।
शिलान्यास कार्यक्रममा चलचित्र, गीत–संगीत तथा कला क्षेत्रका चर्चित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नायक तथा निर्देशक गजित बिष्ट, निर्देशक सौगात बिष्ट, इन्द्र परियार, बिनोद पुडासैनी, पुष्प श्रेष्ठ, विजय सम्योग सुब्बा, सुरेन्द्र भुजेल, लाखमान योन्जन, भिम लामा, सौगात रिजाल, श्रीकृष्ण लुइटेल ‘बोकेदारी’, मनोज दाहाल, जय चौधरी, जानकी चौधरी, हिमाल दाहाल, झोटन मेहता, सम्झना भट्टराई, गंगा कुँवर, गंगा गौतम आचार्य, उपेन्द्र राई, रञ्जु डाँगी सोनीलगायत कोशी प्रदेशभरिका चलचित्रकर्मी र कलाकारहरू कार्यक्रममा सहभागी थिए ।
महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले यो क्षण महासंघका लागि ऐतिहासिक रहेको उल्लेख गर्दै फ्युचर रियल स्टेट परिवारप्रति आभार व्यक्त गरे । उनले निर्माण हुने भवनले कोशी प्रदेशका चलचित्रकर्मीहरूका लागि स्थायी, व्यवस्थित र साझा थलोको भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार भवन निर्माण परियोजना चरणबद्ध रूपमा अगाडि बढाइनेछ । दीर्घकालीन योजनाअन्तर्गत उक्त जग्गामा चलचित्र छायांकन स्टुडियो र १५० सिट क्षमताको सिनेमा हल निर्माण गर्ने लक्ष्यसमेत राखिएको छ ।
जन्मोत्सवको उत्साह, कलाकारहरूको एकता र संस्थागत भविष्यप्रतिको प्रतिबद्धतासँगै सम्पन्न शिलान्यास कार्यक्रममा कोशी प्रदेशको चलचित्र क्षेत्रमा नयाँ अध्याय थपिएको अनुभूति सहभागीहरूले व्यक्त गरेका छन् ।
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
प्रतिक्रिया