सुनसरी : नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार यसपटक संसदीय निर्वाचनमा आठौँ पटक प्रतिस्पर्धामा उत्रिएका छन्। २०४८ सालदेखि सुनसरी जिल्लाको उही क्षेत्रबाट निरन्तर उम्मेदवार रहँदै आएका गच्छदारले २०७९ को निर्वाचनमा मात्र हार व्यहोरेका थिए।
उनको राजनीतिक जीवनमा पहिलो पराजय २०४३ सालको जिल्ला पञ्चायत सभापति निर्वाचनमा भएको थियो। त्यसपछि संसदीय निर्वाचनमा लामो समय अपराजित रहेका उनी अघिल्लो निर्वाचनमा एमालेकी भगवती चौधरीसँग पराजित भए। त्यतिबेला उनीमाथि ललिता निवास प्रकरणसँग जोडिएको भ्रष्टाचार मुद्दाको छायाँका कारण लिइएको थियो।
यसपटक भने गच्छदारले उक्त मुद्दाबाट सफाइ पाइसकेका छन्। विशेष अदालतले २०८० फागुन ३ गते ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा दायर मुद्दाबाट उनलाई निर्दोष ठहर गरेको थियो। यद्यपि, उक्त फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन २० गते सर्वोच्च अदालतमा पुनरावलोकन रिट दायर गरेकाले मुद्दा अझै पूर्ण रूपमा टुङ्गिएको छैन।
२०७९ को निर्वाचनमा भगवती चौधरीले ४० हजार ७८८ मत प्राप्त गर्दा गच्छदारले ३५ हजार ६ सय मतमा सीमित हुनुपरेको थियो। ५ हजार १८८ मतको यो अन्तर घटाउनु गच्छदारका लागि यसपटकको मुख्य चुनौती बनेको छ।
राजनीतिक रूपमा उनी नेपालको संसदीय व्यवस्थाबाट सबैभन्दा बढी लाभ लिने नेतामध्ये एक मानिन्छन्। २०४८ सालमा तत्कालीन सुनसरी क्षेत्र नम्बर २ बाट एमालेकी लीला श्रेष्ठ सुब्बालाई पराजित गर्दै संसद् प्रवेश गरेका गच्छदारले सोही कार्यकालमै सञ्चार राज्यमन्त्रीको जिम्मेवारी पाए। त्यसयता उनले १२ पटक मन्त्री र चार पटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
तर २०७६ माघ २२ मा ललिता निवास प्रकरणमा अख्तियारले उनीसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको मन्त्री यात्रामा विराम लागेको थियो। एकपछि अर्को सरकारमा मन्त्री बन्ने शृङ्खला त्यहीँबाट अवरुद्ध भयो।
यसपटकको निर्वाचनमा एमालेभित्रको आन्तरिक असन्तुष्टिले गच्छदारलाई केही राहत मिल्ने अनुमान गरिएको छ।
प्रतिस्पर्धी भगवती चौधरीप्रति एमालेकै एक समूह असन्तुष्ट देखिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिने चौधरीका कारण ओलीइतर समूह असहज बनेको र त्यसको राजनीतिक लाभ गच्छदारले उठाउने प्रयास गरिरहेका छन्।
गच्छदारले क्षेत्रगत मत सुरक्षाका लागि रणनीतिक तयारी तीव्र पारेका छन्। एमाले केन्द्रीय सदस्य तैयव हुसेनको असन्तुष्टिका कारण खनार क्षेत्रमा एमालेको मुस्लिम मत कमजोर हुन सक्ने आकलनका साथ गच्छदारले त्यस क्षेत्रमा पनि राजनीतिक सक्रियता बढाएका छन्।
२०४८ सालदेखि सुरु भएको गच्छदारको मन्त्री यात्रा सञ्चार राज्यमन्त्रीदेखि उपप्रधान तथा स्थानीय विकास मन्त्रीसम्म फैलिएको छ। लामो सत्ता अनुभव, सङ्गठनात्मक पकड र स्थानीय समीकरणकै आधारमा उनी यसपटक अघिल्लो हारको हिसाब मिलाउने दाउमा देखिन्छन्।
यसपटक सुनसरी ३ बाट एमालेकी भगवती चौधरी सहित मुख्य रूपमा रास्वपाका अशोक चौधरी समेत चुनावी मैदानमा छन् ।
प्रतिक्रिया