धरान : २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा धरानले जर्जियन फुटबल क्लब (भारत) लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थित रंगशालामा आज सम्पन्न खेलको निर्धारित समय दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै धरानले भारतीय टोलीलाई पराजित गर्दै घरेलु समर्थकमाझ प्रतियोगितामा शानदार सुरुवात गर्यो ।
टाइब्रेकरमा धरान फुटबल क्लबका प्रज्वल थापा, नगेन राई, विवेक राई र राज लिम्बूले गोल गर्न सफल भए । जर्जियन फुटबल क्लबका सैजा र सरद मुण्डाले गोल गरे भने, बक्सर प्रधान र विशाल क्षेत्रीको प्रहार धरानका गोलकिपर विपुल मगरले रोके ।
उत्कृष्ट गोलरक्षण प्रदर्शन गरेका विपुल मगर आजको खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोलि झापा–११ झापा र रोयल थिम्पु क्लब (भुटान) बीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
२६औँ संस्करणको यस प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी, प्रत्येक खेलको 'म्यान अफ द म्याच'लाई १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५–२५ हजार र सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया