विराटनगर : मोरङको जहदा गाउँपालिका–५ सोहलस्थित एक पोखरीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । आज (शनिबार) बिहान करिब ८ बजे स्थानीयले पोखरीमा करिब ४५–५० वर्षको महिला डुबेको अवस्थामा देखेपछि घटना सम्बन्धी जानकारी प्रहरी चौकी मझारेमा दिएका थिए।
सूचना पाएपछि प्रहरी चौकी मझारेका प्रहरी साहयक निरीक्षक शेखर कार्कीको कमाण्डमा प्रहरी टोली घटना स्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। थप प्राविधिक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन मोरङ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ।
कानुनी प्रक्रिया अघि बढाइरहेका बेला मृतकको परिचय खुलेको छ। मृतक जहदा गाउँपालिका–४ का दुलारचन महतोकी ६० वर्षीया श्रीमती डोम्ना महतो भएको प्रहरीको भनाइ छ।
मृतकको शव विहान १०:४५ बजे कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया