इटहरी । प्रतिनिधि सभा सदस्य पदका लागि फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन विज्ञापन बोर्डले मतदातालाई भ्रमित गर्ने किसिमका विज्ञापन तथा प्रचार सामग्रीमाथि कडा निगरानी थालेको जनाएको छ। सामाजिक सञ्जाललगायत विभिन्न माध्यममार्फत राजनीतिक दल, उम्मेदवार, नेता तथा कार्यकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा होच्याउने, भ्रम सिर्जना गर्ने तथा मतदातालाई झुक्याउने सामग्री फैलिरहेको गुनासो प्राप्त भएपछि बोर्डले अनुगमन र नियमन तीव्र बनाएको हो।
विज्ञापन बोर्ड र निर्वाचन आयोगबीच निर्वाचन अवधिमा हुने विज्ञापनको अनुगमन, नियमन, छानबिन र कारबाही गर्ने सहमति भइसकेको उल्लेख गर्दै बोर्डले निर्वाचनको समयमा प्रसारण, प्रकाशन र प्रदर्शन भइरहेका विज्ञापन सामग्रीको सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ। मतदातामा भ्रम सिर्जना गर्ने, चरित्रहत्या हुने, घृणा फैलाउने तथा सामाजिक सद्भाव बिगार्ने श्रव्य तथा श्रव्यदृश्य सामग्री उत्पादन र प्रसारण भइरहेको पाइए कारबाहीको दायरामा ल्याइने चेतावनी दिइएको छ।
बोर्डले फेक आईडी र कृत्रिम प्रविधिको प्रयोग गरी निर्माण गरिएका डीपफेक सामग्रीमार्फत मतदातालाई भ्रमित पार्ने गतिविधि बढ्दै गएको भन्दै यस्ता कार्य गर्ने र गराउनेलाई कानुनी कारबाही गरिने जनाएको छ। साथै सामाजिक सञ्जालमा पोस्ट भएका मिथ्या सूचना तथा भ्रमपूर्ण सामग्रीलाई लाइक, शेयर, ट्याग वा कमेन्ट नगर्न सबैमा अनुरोध गरेको छ।
त्यस्तै, कुनै दल वा उम्मेदवारलाई लक्षित गरी भ्रम सिर्जना गर्ने पर्चा, पम्प्लेट, पोस्टर, ब्यानर तथा अन्य प्रचार सामग्री उत्पादन, वितरण र प्रदर्शन नगर्न दल, उम्मेदवार र समर्थकहरूलाई सचेत गराइएको छ। यस्ता सामग्री कुनै माध्यममा प्रकाशन, प्रसारण वा प्रदर्शन भएको पाइए विज्ञापन बोर्डमा जानकारी गराउन पनि आग्रह गरिएको छ।
_gluSnVY1pl.jpg)
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७, निर्वाचन आचारसंहिता, २०८२ तथा विज्ञापन उत्पादन, वितरण, प्रकाशन र प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ विपरीत कुनै गतिविधि भए कानुन बमोजिम कारबाही गरिने विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे (खत्री)ले हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
प्रतिक्रिया