इटहरी : सुनसरीको बराहक्षेत्रमा सुरु भएको जिल्लास्तरीय दोस्रो प्याब्सन एन्फा प्रेसिडेन्ट कप फुटबलको प्रतियोगिताको उद्घाटन खेलमा चिल्ड्रेन हार्ड बराहक्षेत्रले विजयी सुरुवात गरेको छ ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा रहेको जनता डेडराज माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा चिल्ड्रन हार्डले बराहक्षेत्रकै जय सप्तकोशी बोडिङ् स्कुललाई ट्राइबेकरमा ६–५ गोलको अन्तरले हराएको हो । दुवै टीमबिच भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा र थप गरिएको अतिरिक्त समयमा समेत दुवैतर्फबाट गोल हुन नसक्दा खेल ट्राइबेकर पुगेको थियो ।
प्रतियोगिता अन्तरगत पहिलो चरणको खेल यही मंसिर २७ गतेसम्म चल्नेछ । जसमा बराहक्षेत्रका १६ वटा टीम र धरानमा १८ वटा टीमबिच प्रतिस्पर्धा हुने छ । पहिलो चरणबाट विजयी टिम दोस्रो चरणमा प्रवेश गर्ने प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालले जानकारी दिए । दोस्रो चरणको खेल आगामी पुस १ गतेदेखि धरानमा हुनेछ । प्रतियोगिता उद्घाटनका क्रममा प्याब्सन सुनसरी अध्यक्ष ढकालले विद्यार्थीहरुलाई पढाईका अतिरिक्त खेलकुद विधामा उत्कृष्ट बनाउन प्याब्सनले जिल्लास्तरीय प्रतिस्पर्धा गराएको बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय एथलेटिक्स खेलाडी आशाराम चौधरी लगायतको आतिथ्य रहेको थियो ।
प्रतिक्रिया