हेटौँडा । यस वर्ष हेटौंडा उपमहानगरपालिकाले तिहार लक्षित बजारका लागि तीन स्थान तोकेको छ।
विगतका वर्षहरुमा उपमहानरपालिकाले नगर क्षेत्रका विभिन्न स्थानमा यस्ता बजार राख्न अनुमती दिदै आएकोमा यस पटक भने राप्ती रोड ब्लड बैंक भवनदेखि पश्चिमतर्फ हेटौंडा अस्पतालको पर्खाल बाहिरको खाली स्थान, हेटौंडा २ स्थित संगमचोक र फरेष्टि स्थित खुला स्थानमा मात्र अनुमति दिइएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए।
यद्यपि, फरेष्टि अगाडिको खाली जग्गामा व्यापारिक चहलपहल नहुने देखिएपछि व्यापारीहरुले उक्त स्थानमा जान मानेनन्। हेटौडा अस्पताल परिसर क्षेत्र र संगमचोकमा मात्रै तिहार लक्षित बजार राखिएको छ।
त्यसैगरी उद्योग वाणिज्य संघका अगाडि डोकोमा फुलहरु मात्र बिक्री गर्न अनुमति दिइएको प्रवक्ता न्यौपानेले जानकारी दिए।
तिहार बजारमा फूल, फलफूल, भाइ मसला, लक्ष्मी पूजाका सामग्री, ध्वजापताका विक्रीका लागि राखिएका छन्।
भाईटिका तथा लक्ष्मी पूजाका लागि आवश्यक पर्ने पूजा सामग्री, मसला, फलफूल लगायतका सामानहरु किन्न ग्राहकहरुको चहलपहल सुरु भएको छ। असोज ३१ गतेदेखि सञ्चालनमा आएको तिहार लक्षित बजार एक सातासम्म चल्नेछ।
तोकिएको क्षेत्रमा तोकिएको समयावधि लागि व्यवसाय सञ्चालन गर्न कुनै शुल्क नलाग्ने प्रवक्ता न्यौपानेले बताए।
बजारलाई व्यवस्थित बनाउनका लागि उपमहानगरपालिकाले विगतका वर्ष देखि नै स्थान निर्धारण गर्ने गरेको छ। बजारमा नगर प्रहरीले निगरानीका साथै सुरक्षा प्रदान गरिरहेको छ।
प्रतिक्रिया