रूपन्देहीको कञ्चनमा १७ वर्षीय विद्यार्थीको बीभत्स हत्या

शुक्रबार, ०४ पुस २०८२

बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिकामा एक १७ वर्षीय किशोरको बीभत्स हत्या भएको छ । कञ्चन गाउँपालिका वडा नम्बर ३, धौलागिरीचोक निवासी ईशान शर्मा पौडेलको शव बिहीबार साँझ स्थानीय एक नालीमा फेला परेको हो ।

बुधबार राति ८ बजेदेखि सम्पर्कविहीन भएका ईशानको खोजी गर्ने क्रममा बिहीबार साँझ ६ बजेतिर घर नजिकैको नालीमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । मृतकको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलको प्रकृति हेर्दा नियोजित रूपमा हत्या गरिएको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप क्षेत्रीले घटनाको पुष्टि गर्दै दोषीको खोजी कार्य तीव्र पारिएको जानकारी दिए । ‘टाउकोमा प्रहार गरेर बीभत्स ढंगले हत्या गरिएको अवस्थामा शव फेला परेको छ ,’ एसपी क्षेत्रीले भने, ‘हामीले घटनास्थललाई घेराबन्दी गरेर सुक्ष्म अनुसन्धान सुरु गरिसकेका छौँ । घटनामा संलग्न रहेकाहरूको पहिचान गर्न स्थानीयसँग सोधपुछ र अन्य प्राविधिक पक्षको अध्ययन भइरहेको छ ।’

स्थानीय अर्जुन र रमा शर्मा पौडेलका एक्ला सन्तान ईशान स्थानीय बुद्धदिप बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए । इलाका प्रहरी कार्यालय रुद्रपुरको टोलीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बुटवल पठाएको छ । प्रहरीले घटनाको गाम्भीर्यलाई हेर्दै तालिमप्राप्त कुकुर र विज्ञ टोली परिचालन गरी अनुसन्धानलाई अगाडि बढाएको जनाएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार