रौतहट : आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् । गृहमन्त्री अर्यालले देशमा शान्ति, सु–व्यवस्था र अमनचयन कायम गर्नेगरि भूमिका नखेलेको भन्दै साहले प्रश्न उठाएका हुन् ।
देशमा शान्ति, सुरक्षा र अमनचयनको जिम्मा लिएका गृहमन्त्रीले राम्रो सुझबुझ देखाउन नसकेको र राजनीतिक प्रतिशोधमो उत्रिन खोजेको आभाष हुन थालेको भन्दै साहले आलोचना गरे ।
रौतहटको मौलापुरमा आज पत्रकारहरूसंगको कुराकानीमा अध्यक्ष साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनावको म्याण्डेटमा ध्यान दिन भन्दै अनावश्यक मिडियाबाजी र म्यानुपुलेशनमा नलाग्न पनि चेतावनी दिए । उनले देशको गृह प्रशासन चलाउने कुरा अदालतमा रिट निवेदन हाल्ने र बहस गरेजस्तो सजिलो नहुने भन्दै समयको गम्भीरतालाई ध्यान दिएर चुनावको वातावरण बनाउने कुरामा आफ्नो भूमिका निर्वाह गर्न गृहमन्त्रीलाई सुझाव दिए ।
उनले प्रधानमन्त्री सुशीला कार्की चुनाव गराउने दिशामा नभएर देशलाई दिशाहीन गन्तव्यमा पुर्याउन उद्धत रहेको आरोप लगाए । वर्तमान सरकारको हुती हेरेर नै भदौ २३ गते जेन–जी आन्दोलनको क्रममा युवाहरुको नरसंहारमा उत्रिएका केपी ओलीजस्ता अधिनायकवादी शासकहरूले अहिले टाउको उठाउन थालेको उनको दाबी छ ।
साहले वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने संकेत देखिएको भन्दै निर्णायक संघर्षमा होमिनको लागि न्यायप्रेमी, देशभक्त र क्रान्तिकारी शक्तिहरुलाई अपिल गरेका छन् । उनले वर्तमान सरकार फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउनको लागि बनाईएको भएपनि अहिले सरकारले जथाभावी हात हाल्न थालेको भन्दै त्यसको उपज राजदूतहरु अकारण फिर्ता बोलाईएकोमा आक्रोश पोखे ।
प्रतिक्रिया