काठमाडौँ : १५ सदस्यीय पदाधिकारीसहित केन्द्रीय कमिटीको प्यानल बनाउने गरी अध्यक्षका उम्मेदवार अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह दुवैले आन्तरिक गृहकार्य सुरु गरेका छन् । अहिलेलाई प्यानल सार्वजनिक नगर्ने, तर उम्मेदवारी मनोनयनपछि सार्वजनिक गर्ने गरी दुवै पक्षले आ–आफ्नो टिम निर्माणको गृहकार्य थालेका हुन् ।
ओली समूहले पदाधिकारीबाहेक समेट्नुपर्ने केन्द्रीय सदस्यहरूको प्रारम्भिक सूची तयार गरिसकेको ओलीनिकट एक नेताले बताए । ओली समूहमा सबैभन्दा पेचिलो पद महासचिव बनेको छ । ओलीले पुनः शंकर पोखरेललाई नै महासचिव दोहोर्याएर प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई उपाध्यक्षमा व्यवस्थापन गर्न खोजेका छन् ।
तर, उपाध्यक्ष तीन पद मात्र रहेकाले विष्णु पौडेल पनि दोहोरिने र रामबहादुर थापालाई पनि समेट्नुपर्ने हुँदा ज्ञवाली र गुरुङमध्ये एकलाई मात्र उपाध्यक्ष बनाउन सकिने बाध्यता ओलीसामु छ । गुरुङलाई उपाध्यक्षमा व्यवस्थापन नगर्दा टिममै समस्या पर्न सक्ने र अर्को समूहले उनलाई महासचिवको उम्मेदवार बनाउन सक्ने सम्भावनातर्फ पनि ओली पक्ष सचेत रहेको ती नेताले बताए । उपमहासचिव ज्ञवालीले पुनः नदोहोरिने भन्दै महासचिव पदमै अडान राखिरहेको स्रोतको भनाइ छ ।
त्यस्तै, उपमहासचिवमा विष्णु रिमाल दोहोरिँदा पद्मा अर्याल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र लेखराज भट्टलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती ओली समूहलाई छ । सचिवहरूको उपमहासचिवमा बढुवा नभए महासेठ, विश्वकर्मा र भट्टमध्ये दुईजना अर्को समूहमा जान सक्ने जोखिम रहेको बताइन्छ । उपमहासचिव पदमा भानुभक्त ढकालले पनि रुचि देखाएका छन् । सात सचिवमध्ये प्रत्येक प्रदेशबाट एकजना नयाँ अनुहार समेट्नुपर्ने चुनौतीसमेत ओली समूहसँग छ ।
अर्कोतर्फ, पोखरेल समूहले उपाध्यक्षमा युवराज ज्ञवालीलाई दोहोर्याउने तयारी गरेको छ । अष्टलक्ष्मी शाक्यलाई पनि उपाध्यक्षमै दोहोर्याउने र उनी नदोहोरिए बिन्दा पाण्डेलाई उठाउने छलफल चलिरहेको छ ।
अर्को समूहबाट आउन सक्ने सम्भावित सचिव महासेठ, भट्ट र विश्वकर्मालाई उपाध्यक्ष र उपमहासचिवमा व्यवस्थापन गर्न सकिने गरी गृहकार्य सुरु भएको पोखरेलनिकट नेताहरूले बताएका छन् । महासचिवमा भने उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई उठाउने सम्भावना बलियो बन्दै गएको छ । पाण्डेले पनि उपाध्यक्षभन्दा कार्यकारी पद महासचिवमै बढी रुचि देखाएका छन् ।
यस अवस्थामा सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट उपमहासचिवमा उठ्ने वा अर्को समूहबाट आएकालाई स्थान दिँदै सचिवमै दोहोरिन तयार देखिएका छन् । सचिव पदमा भने गोकुल बाँस्कोटा, कर्ण थापा, विनोद ढकालदेखि ४० वर्षमुनिको उमेर समूहलाई समेत ध्यान दिँदै रचना खड्कालाई अघि सार्ने प्रारम्भिक छलफल चलिरहेको एक पदाधिकारीले बताए ।
नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया