काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा परेको छ।
उनका अनुसार यमपञ्चक अर्थात् तिहार पर्व कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। सो दिनदेखि यमदीप दानको सुरुआत गरिन्छ। समितिद्वारा स्वीकृत पात्रोअनुसार सोही दिन धनत्रयोदशी र धनतेरस पर्व पनि मनाइनेछ।
कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती परेको छ। त्यसपछि कात्तिक ३ गते सोमबार बिहान नरक स्नान, कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइनेछ। सो दिन दिउँसो २ बजेर ५२ मिनेटसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले पर्वहरूको क्रम शास्त्रसम्मत रूपमा निर्धारण गरिएको समितिले जनाएको छ।
समितिका अनुसार औंशी तिथिमा गरिने स्नान र दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ। सो दिन दिउँसो ४ बजेर २९ मिनेटसम्म औंशी तिथि रहनेछ। यस वर्ष शास्त्रीय विधिअनुसार भाइपूजा तथा नेवार समुदायले मनाउने किजा पूजा पनि कात्तिक ६ गते बिहीबार नै मनाइनेछ।
प्रतिक्रिया