काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशनबाट हरेक भूगोल र क्षेत्रमा ४० वर्ष मुनिका युवा अनिवार्य हुने ३ सय एक जनाको केन्द्रीय कमिटीको संरचना तय गरिने भएको छ । आज सुरु महाधिवेशनको बन्दसत्रमा पारित प्रस्तावअनुसार केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिने भएको हो ।
नयाँ संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ पदाधिकारी रहनेछन् । जसमा एक जना अध्यक्ष पाँच जना उपाध्यक्ष , एक जना महासचिव, तीन जना उपमहासचिव र नौं जना सचिव रहने व्यवस्था गरिएको छ । वरिष्ठ उपाध्यक्षको व्यवस्था हटाइएको छ । प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित सबै आठ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट नौ जनाको प्रतिनिधित्व रहनेछ, जसमा पाँच जना खुला, तीन जना महिला र एक जना युवा रहने एमालेको महाधिवेशन प्रचार कमिटीका संयोजक पदमा अर्यालले जानकारी दिइन ।
खुला कोटाबाट १ सय २५ जना केन्द्रीय सदस्य चयन हुनेछन् । उक्त कोटामा ७१ जना खुला, ५२ जना महिला र दुई जना युवा समावेश गरिएका छन् । समावेशी संरचनाअन्तर्गत आदिवासी–जनजातिबाट २५ जना (खुला १५, महिला आठ, युवा २), मधेसीबाट १९ जना (खुला ११, महिला छ, युवा दुई), दलितबाट १२ जना (खुल्ला सात, महिला चार, युवा एक), थारु समुदायबाट आठ जना (खुला पाँच, महिला तीन), मुस्लिम समुदायबाट पाँच जना (खुला चार, महिला एक) प्रवासतर्फ भारतबाट एक र अन्य देशबाट एक गरी दुई जना, श्रमिकबाट तीन जना (खुला दुई, महिला एक), अपाङ्गता भएका व्यक्तिबाट एक जना, पिछडिएको क्षेत्रबाट दुई जना (खुला एक, महिला एक) सम्पर्क समन्वय कमिटीबाट दुई जना (खुला एक, महिला एक) रहने छन् ।
यस्तो छ निर्वाचन कार्यतालिका
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले आज साँझ सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज बेलुका ७ः०० बजे मतदाता नामावली प्रकाशन गर्नेे छ ।
त्यस्तै, सोमबार बिहान ८ः०० बजेदेखि ९ः०० बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना प्रकाशन गर्ने, १०ः०० बजे दाबी विरोधउपचार छानबिन र निर्णय गर्ने, १०ः१५ बजे अन्तिम नामावली प्रकाशन गर्ने, ९ः०० बजेदेखि १२ः०० बजेसम्म उम्मेदवारको दर्खास्त फाराम वितरण गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै, बिहान १०ः३० बजेदेखि १ः३० बजेसम्म उम्मेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको विरोधमा उजुुरी दिने कार्यतालिका रहेको आयोगका अध्यक्ष डा सुब्बाले जानकारी दिए ।
सोमबार दिउँसो ३ः१० बजे उजुरीउपर छानबिन र निर्णय गर्ने, दिउँसो ३ः१० बजेदेखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्ने र बेलुका ६ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
निर्वाचन कार्यतालिका अनुसार आगामी पुस १ गते ११ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान गर्ने रहेको छ । मतदानपश्चात् मतगणना हुनेछ भने निर्वाचन समितिले तोकेअनुसार निर्वाचन परिणाम घोषणा हुनेछ । यसपछि प्रमाणपत्र वितरण र शपथ ग्रहण हुने तय गरिएको छ ।
प्रतिक्रिया