भारत सरकारले बङ्गलादेशको अन्तरिम सरकारले हालै सार्वजनिक गरेको दाबीलाई स्पष्ट रूपमा अस्वीकार गर्दै बङ्गलादेशमा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय चुनावका पक्षमा आफ्नो अडान पुनः दोहोर्याएको छ।
भारतीय विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा बङ्गलादेशको अन्तरिम सरकारले १४ डिसेम्बर २०२५ मा सार्वजनिक गरेको प्रेस नोटमा उल्लेख गरिएका आरोपहरूलाई भारतले अस्वीकार गरेको जनाएको छ। भारतको प्रतिक्रिया बङ्गलादेशले पूर्व प्रधानमन्त्री शेख हसिनाले विदेशबाट हिंसा भड्काएको आरोप लगाउँदै भारतीय उच्चायुक्तलाई बोलाएपछि आएको हो।
विज्ञप्तिमा भारतले बङ्गलादेशमा शान्तिपूर्ण वातावरणमा स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचन हुनुपर्नेमा जोड दिएको छ। साथै भारतले आफ्नो भूभाग बङ्गलादेशका जनताको हितविरुद्ध हुने कुनै गतिविधिका लागि प्रयोग गर्न नदिइएको स्पष्ट पारेको छ।
भारतले बङ्गलादेशको अन्तरिम सरकारले आन्तरिक कानून व्यवस्था कायम राख्दै शान्तिपूर्ण चुनाव सम्पन्न गर्न आवश्यक सबै कदम चाल्ने अपेक्षा व्यक्त गरेको छ।
यसअघि बङ्गलादेशले भारतमा रहेका पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलको सुपुर्दगीको माग गर्दै उनीहरूले हिंसा भड्काएको र आगामी चुनावमा बाधा पुर्याउने प्रयास गरेको आरोप लगाएको थियो। साथै अवामी लिगका केही सदस्य भारतमा बसेर बङ्गलादेशविरुद्ध गतिविधिमा संलग्न रहेको दाबी ढाकाको छ।
बङ्गलादेशको विदेश मन्त्रालयका अनुसार ती गतिविधिमा चुनावी प्रक्रियामा अवरोध पुर्याउने आतङ्कवादी गतिविधिको योजना, सङ्गठन र सहयोगसमेत रहेको आरोप लगाइएको छ। राजनीतिक नेता सरिफ उस्मान हादीमाथि भएको हत्या प्रयासका संदिग्ध भारततर्फ भाग्न नपाउन् भनी सहयोगको आग्रहसमेत गरिएको छ।
यस विषयमा भारतीय उच्चायुक्तले भारत बङ्गलादेशमा शान्तिपूर्ण निर्वाचनका लागि प्रतिबद्ध रहेको र आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको स्पष्ट पारेका छन्।
प्रतिक्रिया