टी–२० विश्वकप वार्मअप खेलमा नेपालको विजयी सुरुआत, युएई ७ विकेटले पराजित

मंगलबार, २० माघ २०८२

काठमाडौँ : आइसीसी टी–२० विश्वकपअन्तर्गत पहिलो वार्मअप खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा युएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा आरिफ सेख र दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङ निर्णायक बन्यो । आरिफले सर्वाधिक ६१ रन बनाएका थिए भने दिपेन्द्रले अविजित ५० रन जोडे । कप्तान रोहित पौडेलले १६ रन बनाउँदा आसिफ सेख र कुशल भुर्तेलले समान ८–८ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । युएईका लागि सोहैब खानले सर्वाधिक ३६ रन बनाएका थिए भने हर्षित कौशिकले ३५ रन जोडे । आर्यांश शर्माले २५ रन र मुहम्मद जोहैबले १९ रन बनाए ।

नेपाली बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए ।

यस जितसँगै नेपालले टी–२० विश्वकपको तयारीलाई थप सुदृढ बनाएको छ । नेपालले अब अर्को वार्मअप खेल फेब्रुअरी ५ मा चेन्नईमै क्यानडाविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार