झापा : बिर्तामोड नगरपालिकामा यस वर्ष १५ सयभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापुलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको छ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार माघ २५ गतेदेखि नगरभित्रका निजी तथा सामुदायिक ५६ वटा विद्यालयमा पुगेर कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइनेछ। नगर स्वास्थ्य शाखा प्रमुख राजीव विष्टका अनुसार विद्यालयमै पुगेर लक्षित समूहलाई खोप लगाउने व्यवस्था गरिएको हो।
जनस्वास्थ्य निरीक्षक गणेश रिजालका अनुसार गत वर्षको अभियानमा छुटेका लक्षित उमेर समूहका किशोरीलाई पनि यस वर्ष अनिवार्य रूपमा खोप लगाइनेछ। प्रत्येक विद्यालयबाट छुटेका किशोरीको नाम रोल नम्बर सहित संकलन गरिएको उनले जानकारी दिए।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकृत संजय ठकुरीका अनुसार पहिलो चरणमा खोप कार्यक्रम सञ्चालन गरिनेछ भने दोस्रो चरणमा स्क्रिनिङको काम गरिनेछ। नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रतिदिन औसत चार महिलाको मृत्यु हुने गरेको उल्लेख गर्दै उनले यस रोगको रोकथामका लागि एचपिभी खोप अत्यावश्यक रहेको बताए।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले अभियानको प्रचार–प्रसार र समन्वयमा सबै जनप्रतिनिधिलाई सक्रिय भूमिका खेल्न आग्रह गरिन्। स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै उनले लक्षित वर्गलाई व्यवस्थित रूपमा अनिवार्य खोप लगाउन जोड दिइन्।
बिर्तामोड नगरपालिकाले एचपिभी खोप सञ्चालनसम्बन्धी नगरस्तरीय अभिमुखीकरण गोष्ठी मंगलबार सम्पन्न गरेको छ। गोष्ठीमा नगरका जनप्रतिनिधिको सहभागिता रहेको थियो।
कक्षा ६ मा अध्ययनरत किशोरीका साथै विद्यालय जानबाट वञ्चित किशोरीलाई समेत खोप अनिवार्य रूपमा लगाइने नगरपालिकाले जनाएको छ। खोप कार्यक्रमका लागि नगरभर ६७ वटा खोप केन्द्र तोकिएका छन्।
प्रतिक्रिया