इटहरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार राजिब कोइरालाले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा कोइरालाले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै घरदैलो अभियानलाई प्रभावकारी बनाएका हुन्।
सोही क्रममा कोइरालाले इटहरी उपमहानगरपालिका–१७ नम्बर वडाका अधिकांश टोलमा पुगेर सर्वसाधारणसँग सुख–दुःख आदान–प्रदान गर्दै दिनभर ‘वान–टु–वान’ भेटघाट गरेका थिए।
भेटघाटका क्रममा स्थानीयले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र रोजगारीलगायतका समस्याबारे उम्मेदवारलाई अवगत गराएका छन्।

स्थानीय बासिन्दाले यसअघि निर्वाचित भएका प्रतिनिधिहरू जितेपछि गाउँमा नफर्किएको गुनासो गर्दै आक्रोशसमेत व्यक्त गरेका थिए। “मत माग्न आउने तर जितेपछि फर्केर नआउने प्रवृत्तिले जनतामा निराशा बढाएको छ,” स्थानीयको भनाइ थियो।
_nqGfISRgN7.jpg)
यसैबीच, इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा एमालेले सुनसरी–२ मा आफ्ना उम्मेदवारलाई जिताउन कमाण्डरको जिम्मेवारी दिएका द्वारिकलाल चौधरीले नै कांग्रेस उम्मेदवार कोइरालालाई बधाई तथा अग्रिम शुभकामना दिएका छन्।
पूर्वमेयर चौधरीले कोइरालालाई खँदा लगाएर विजयको शुभकामना दिएका थिए। पूर्वमेयर चौधरीसँगै उनकी आमाले पनि उम्मेदवार कोइरालालाई शुभकामना दिएकी थिइन्।
राजनीतिक रूपमा फरक धारमा रहे पनि व्यक्तित्व र व्यवहारका कारण शुभेच्छा व्यक्त भएको घटनाले स्थानीय राजनीतिक वृत्तमा चर्चा पाएको छ। उम्मेदवार कोइरालाले जनताको समस्या संसद्मा पुर्याउने र जितेपछि नियमित रूपमा जनतामाझ उपस्थित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया