महाधिवेशन नजिकिँदै : काँग्रेसमा शक्ति–सन्तुलनको खेल, को बन्छ देउवाको उत्तराधिकारी ?

‘सात भाइ’देखि शेखर–गगनसम्मको दौडधुप

विहीबार, १८ मंसिर २०८२

काठमाडौँ : लामो विवाद र रस्साकस्सीपछि पार्टीको १५औँ महाधिवेशनको मिति टुङ्गो लागेसँगै नेपाली काँग्रेसमा भावी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भएको छ। नियमित वा विशेष महाधिवेशन गर्ने पक्षधरबीचको विवाद टुङ्गिएर काँग्रेसले मध्यमार्गी समाधान निकालेपछि पार्टीभित्र नेता तथा कार्यकर्ता तहसम्म उत्साह बढेको छ।

१५ मङ्सिरमा बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ महाधिवेशनको मिति र कार्यतालिका सर्वसम्मत पारित गरेसँगै काँग्रेस अब महाधिवेशन केन्द्रित बनेको छ।

आउँदो पुस २६–२८ सम्म हुने तय गरिएको महाधिवेशनको कार्यतालिकासँगै पार्टीभित्र उत्साह र सक्रियता बढेको छ। महाधिवेशनबाट नेतृत्वमा पुग्ने आकाङ्क्षामा रहने नेताहरू थप सक्रिय बनेका छन्। महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापति शेरबहादुर देउवा समूहबाट सभापतिको उम्मेदवार को हुने भन्ने बहस पुनः तीव्र बनेको छ।

किनकि पार्टीको विधानले देउवालाई तेस्रो पटक सभापति बन्ने बाटो रोकिसकेको छ। नेपाली काँग्रेसको विधानअनुसार एक व्यक्ति दुई कार्यकालभन्दा बढी सभापति बन्न सक्दैन। यही कारण संस्थापन समूहमा देउवाको उत्तराधिकारी को बन्ने भन्ने विषयमा छलफल बढेको हो।

नेतृत्वबारे आन्तरिक छलफल संस्थापन समूहभित्र तीव्र बनेको छ। सोमबार संस्थापनपक्षका पूर्व–पदाधिकारीहरूले सभापति देउवासँग भावी नेतृत्वबारे विस्तृत छलफल गरेका छन्। देउवाले समूहमा छलफलमार्फत एकजनाको नाम सर्वसम्मत रूपमा तय गर्ने र उसैलाई उत्तराधिकारी बनाइदिने आश्वासनसमेत दिनुभएको छ।

उहाँले आफूनिकट नेताहरूलाई सहमति जुटाएर साझा नाम ल्याउन निर्देशन पनि दिनुभएको छ। देउवाले टिम र पार्टीलाई सुचारु रूपमा नेतृत्व गर्न सक्ने व्यक्तिलाई उत्तराधिकारी बनाउने इच्छा व्यक्त गर्नुभएको छ।
देउवालाई भेट्न सभापतिका आकाङ्क्षी विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू पुगेका थिए।

संस्थापन समूहबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व–उपसभापतिहरू गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, पूर्व–महामन्त्री शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र प्रवक्ता डा. प्रकाशशरण महतलगायतले नेतृत्वमा आउने आकाङ्क्षा राखेका छन्। देउवाको ‘आशीर्वाद’ पाए सभापति जित्ने सम्भावना बढ्छ भन्ने विश्वास आकाङ्क्षीहरूमा देखिएको छ।

यद्यपि देउवा समूहबाट सभापति बन्न चाहनेहरूको सङ्ख्या धेरै छ। विशेषगरी ‘सात भाइ’ भनेर चिनिएका नेताहरूले देउवाले आफूलाई अघि बढाउने आशा राखेका छन्। तर देउवाले हालसम्म कसैलाई पनि स्पष्ट रूपमा ‘टिमको नेता’ भनेर आश्वासन दिएको छैन।
संस्थापन पक्षका नेतामात्र होइन, संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले पनि देउवाको विश्वासमा रहेर महाधिवेशन लड्ने चाहना राखेको काङ्ग्रेसभित्र चर्चा छ।

देउवाको सक्रियतापछि महाधिवेशनसम्बन्धी विवाद सहमतिमै टुङ्गिएको हुँदा पार्टीको भावी नेतृत्वबारे देउवाकै भूमिका निर्णायक रहेको पुष्टि भएको काँग्रेसका नेता बताउँछन्।
तर, महाधिवेशनको मिति घोषणा भए पनि क्रियाशील सदस्यता सूची पूर्ण रूपमा टुङ्गो लाग्न नसक्दा नेता तथा कार्यकर्तामा तोकिएको मितिमा महाधिवेशन हुन कि नहुने भन्ने आशङ्का कायमै छ। यद्यपि आकाङ्क्षीहरूले भने सभापति पदको उम्मेदवारी घोषणा गर्न सुरु गरिसकेका छन्।


महामन्त्री थापाको घोषणा — ‘म सभापति पदमा उम्मेदवार’

पार्टी महामन्त्री गगन थापाले आसन्न १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ। एक टेलिभिजन अन्तर्वार्तामा थापाले आफू सभापतिको उम्मेदवार हुने विषयमा शङ्का नभएको स्पष्ट गर्दै भन्नुभयो,
‘१५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्नेमा त कुनै शङ्का नै छैन।

म सभापतिका लागि उम्मेदवार हुँ, र मलाई विश्वास छ—काँग्रेसका बहुसङ्ख्यक साथीहरूले मलाई ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ।’ महाधिवेशन मिति घोषणा भएपछि सभापति पदमा उम्मेदवारी घोषणा गर्ने पहिलो नेता थापा बन्नुभएको छ।


डा. शेखर समूहको निष्कर्ष — ‘गगनलाई पनि साथ लिएर जानुपर्छ’

१४औँ महाधिवेशनपछि संस्थापनइतर समूहको नेतृत्व गर्दै आउनुभएका नेता डा. शेखर कोइराला पनि आन्तरिक छलफलमा व्यस्त छन्।
१५औँ महाधिवेशनमा सभापति उठ्ने तयारीमा रहेका डा. कोइरालाले बुधवार आफ्ना निकट नेताहरूसँग छलफल गर्नुभयो। उक्त छलफलमा १४औँ महाधिवेशनमा आफ्नो प्यानलबाट जितेका पदाधिकारीसहित शीर्ष नेता सहभागी थिए।

बैठकमा सहभागी एक नेताका अनुसार, ‘डा. शेखर सभापति उठ्ने निश्चित छ। गगन थापालाई पनि सँगै लिएर जानुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ। छलफल जारी छ, केही दिनमै टुङ्गो लाग्नेछ।’

बैठकमा सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, नेता गुरुराज घिमिरे, केन्द्रीय सदस्य गोविन्द पोखरेलसहित एक दर्जनभन्दा बढी नेताहरू उपस्थित रहेको बताइएको छ।


कोइराला परिवारबाट एकजना मात्र उम्मेदवार

महाधिवेशन नजिकिँदै गर्दा कोइराला परिवारबाट सभापतिमा को उठ्ने भन्ने विषय पनि चर्चामा छ।

हाल केन्द्रीय राजनीतिमा सक्रिय डा. शेखर कोइराला, पूर्व–महामन्त्री डा. शशाङ्क कोइराला र नेतृ सुजाता कोइरालामध्ये नेतृ सुजाता तुलनात्मक रूपमा कम सक्रिय देखिनु हुन्छ।

यस पटक डा. शेखर र डा. शशाङ्कमध्ये सभापतिका उम्मेदवार को बन्ने भन्ने जिज्ञासा बढेको छ। सभापति आकाङ्क्षी डा. शशाङ्कले मङ्गलवार पत्रकार सम्मेलनमा भन्नुभयो,

‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ हुनुहुन्छ, उहाँ पनि इच्छुक हुनुहुन्छ। दुईजनामध्ये एकजनामात्र लड्छौँ।’


दुई दिनभित्र नयाँ सदस्यता फाराम वितरण

महाधिवेशन तयारीका क्रममा नेपाली काँग्रेसले दुई दिनभित्र १६५ वटै निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्‍याउने निर्णय गरेको छ। बुधवार बसेको सदस्यता व्यवस्थापन समितिको बैठकले नवीकरणको आधारमा शतप्रतिशत नयाँ सदस्यता फर्म पठाउने निर्णय गरेको हो।
जनसङ्ख्या र क्लस्टरको आधारमा मापदण्ड तय गरी फाराम पठाइने सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो। बैठकले नवीकरणका लागि सबै जिल्ला समितिलाई पासकोड पठाउने निर्णय पनि गरेको छ।
‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका कार्यालयको अभिलेख अवस्थाबारे पनि समितिले विवरण सङ्कलन गर्नेछ।

शुक्रवार सबै भातृ संस्थाका पदाधिकारीलाई बोलाएर नयाँ क्रियाशील सदस्यता वितरणबारे छलफल गरिने कार्यक्रम रहेको छ। सदस्यता वितरणलाई ‘राष्ट्रिय अभियान’का रूपमा अगाडि बढाउन छलफल भइरहेको सदस्यहरूले बताएका छन्।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार