विराटनगर । नेकपा (एमाले)का सचिव भानुभक्त ढकालले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन साह (बालेन्द्र)लाई झापाको क्षेत्र नम्बर–५ मा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडाउनु आकस्मिक राजनीतिक घटनाक्रम नभई योजनाबद्ध रणनीतिक चाल हुनसक्ने दाबी गरेका छन् ।
यो कदम स्थापित राष्ट्रिय राजनीतिक नेतृत्वसँग ठोक्काएर बालेनलाई क्रमशः कमजोर बनाउने उद्देश्यबाट प्रेरित हुनसक्ने ढकालको आशंका छ । विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ढकालले बालेन साहको राजनीतिक भविष्यलाई लिएर पछिल्लो समय देखिएको चर्चालाई गम्भीर रूपमा लिनुपर्ने बताए ।
उनका अनुसार बालेनजस्तो उदीयमान राजनीतिक व्यक्तित्वलाई ओलीजस्ता अनुभवी, सशक्त र संगठनात्मक रूपमा मजबुत नेतृत्वसँग प्रत्यक्ष भिडाइदिनु सामान्य संयोग होइन । ‘बालेनलाई केपी ओलीसँग चुनाव भिडाउनु योजनाबद्ध राजनीतिक चाल हुनसक्छ,’ ढकालले भने, ‘स्थापित राष्ट्रिय नेतृत्वसँग ठोक्काएर उनलाई राजनीतिक रूपमा कमजोर पार्ने उद्देश्य यसभित्र लुकेको हुन सक्छ ।’
ढकालले बालेन साहको निर्णयलाई व्यक्तिगत आकांक्षा वा स्वतन्त्र राजनीतिक चाहनाको सीमामा सीमित गरेर हेर्न नहुने तर्क गरे । उनका अनुसार बालेनलाई झापा–५ मा लगेर ओलीसँग प्रतिस्पर्धा गराउने विषयमा बाहिरी मात्र भएर आन्तरिक घेराभित्रकै रणनीति पनि हुनसक्छ ।
‘बालेनलाई झापा लगेर ओलीसँग भिडाउनु कतै उनकै वरपरको घेराभित्रको रणनीति त होइन ?’ ढकालले प्रश्न गरे । ‘प्रधानमन्त्री तथा दलको नेता हुन नदिन बालेनलाई यस्तो प्रतिस्पर्धामा लगेजस्तो देखिन्छ । तर, वास्तविकता के हो भने ओलीसँग चुनावी प्रतिस्पर्धा गराउनु भनेकै बालेनलाई राजनीतिक रूपमा कमजोर पार्नु हो,’ उनले भने ।
ढकालले अहिले सामाजिक सञ्जाल, केही मिडिया र सार्वजनिक बहसमा देखिएको उत्साहलाई भावनामा आधारित राजनीतिक माहोलको उदाहरणका रूपमा चित्रण गरे । यस्तो माहोल दीर्घकालीन नहुने उनको ठोकुवा थियो । ‘अहिले ज्वरो आएजस्तो देखिन्छ,’ उनले भने, ‘तर, समयसँगै ज्वरो आफैं घटेर जान्छ । भावनामा आधारित राजनीति टिकाउ हुँदैन ।’ झापा–५ मा देखिएको चुनावी चासो पनि अस्थायी भएको दाबी गर्दै उनले अन्ततः राजनीतिक वातावरण यथार्थमा फर्किने बताए ।
ढकालका अनुसार अन्तिम निर्णायक तत्व भनेको संगठन, कार्यकर्ता र दीर्घकालीन जनआधार नै हो । उनले झापाको राजनीतिक इतिहास र वर्तमान संगठनात्मक अवस्थालाई उदाहरण दिँदै एमालेको पकड अझै बलियो रहेको बताए । ‘भावनाले होइन, संगठनले चुनाव जितिन्छ,’ उनले भने, ‘अन्ततः संगठन, अनुभव र स्थायित्व भएका दल नै निर्णायक बन्छन् ।’
आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा ढकालले एमालेले स्पष्ट एकल बहुमत ल्याउने दाबी दोहोर्याए । पार्टीको देशव्यापी सांगठनिक संरचना, अनुशासित कार्यकर्ता पंक्ति र परम्परागत जनसमर्थनका कारण एमाले आगामी निर्वाचनपछि पहिलो दल बन्ने उनको भनाइ थियो । उनले पछिल्ला वर्षहरूमा उदाएका नयाँ राजनीतिक शक्तिहरूलाई अस्थायी लहरको संज्ञा दिँदै ती शक्तिहरू सामाजिक सञ्जाल र केही मिडियामा देखिएको चर्चामै सीमित रहने दाबी गरे ।
‘नयाँ दलहरूको चर्चा धेरै देखिन्छ,’ ढकालले भने, ‘तर, त्यसको दीर्घकालीन आधार छैन । स्थापित दलहरूप्रतिको जनसमर्थन अझै मजबुत छ ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत नयाँ दलहरूको बढ्दो लोकप्रियतालाई ‘खहरेको बाढी’सँग तुलना गरे । ‘२–४ दिन ठूलो बाढी आएजस्तो देखिन्छ,’ उनले भने, ‘तर, त्यसको निरन्तरता हुँदैन । यो अस्थायी लहर मात्रै हो । नेपाली जनताको राजनीतिक विश्वास र विरासत स्थापित दलहरूसँग नै जोडिएको छ ।’
ढकालले विगतमा बनेका विपक्षी गठबन्धनहरूको प्रभाव क्रमशः कमजोर बन्दै गएको पनि बताए । उनका अनुसार गठबन्धनभित्र देखिएको असन्तुलन, स्वार्थको टकराव र आन्तरिक द्वन्द्वका कारण प्रत्यक्ष निर्वाचनमा एमालेका लागि अनुकूल अवस्था तयार भएको छ । ‘गठबन्धनको राजनीति टिकाउ हुन सकेन,’ उनले भने, ‘पार्टी संगठन बलियो भएकाले आगामी निर्वाचनपछि एमालेले एकल बहुमतको सरकार गठन गर्ने अवस्था बनिरहेको छ ।’
पत्रकार सम्मेलनमा ढकालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच हालै भएको फोन संवादबारे पनि टिप्पणी गरे । उनले यसलाई सामान्य राजनीतिक प्रक्रिया भन्दै नेतृत्व तहमा संवाद हुनु स्वाभाविक भएको बताए । ‘राजनीतिमा संवाद हुनु अस्वाभाविक होइन,’ उनले स्पष्ट पारे, ‘यसलाई अनावश्यक रूपमा अर्थ्याइरहनु पर्दैन ।’
ढकाल २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर–३ बाट एमालेका उम्मेदवार बनेका थिए । २०७४ सालमा नेपाली कांग्रेसका डा. सुनील शर्मालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका ढकाल २०७९ सालमा भने सोही क्षेत्रमा शर्मासँग हारेका थिए । त्यसपछि मोरङ–३ आफ्ना लागि असुरक्षित रहेको देखेर यसपटक गृहजिल्ला तेह्रथुमबाट उनी उम्मेदवार बनेका छन् ।
मोरङ–३ मा यसपटक एमालेले ईरान राईलाई उम्मेदवार बनाएको छ । त्यहाँ एमालेको जित सुनिश्चित रहेको दाबी पनि ढकालले गरे । ‘मोरङ–३ मा पार्टीको संगठन बलियो छ,’ उनले भने, ‘ईरान राईको जित सुनिश्चित छ ।’ कांग्रेसबाट पुनः डा. शर्मा नै उम्मेदवार भए पनि जनमत एमालेको पक्षमा रहेको उनको दाबी थियो ।
ढकालले आगामी निर्वाचन भावनात्मक बहस, क्षणिक लोकप्रियता र सामाजिक सञ्जालको हल्लाभन्दा पनि संगठन, अनुभव र स्थायित्वले नै निर्धारण गर्ने निष्कर्ष सुनाए । ‘राजनीतिमा दीर्घकालीन सोच र संरचना आवश्यक हुन्छ,’ उनले भने, ‘एमालेले स्पष्ट बहुमतसहित सरकार गठन गर्ने आधार तयार भइसकेको छ ।’
पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य पर्शुराम बस्नेत, एमाले कोशी प्रदेशका प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीलगायतका नेताहरु उपस्थित थिए ।
प्रतिक्रिया