काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बहुदलीय व्यवस्थामा पिल्लर राजनीतिक दल भएको भन्दै दलहरुको गतिविधिलाई नियन्त्रण र नेतालाई अपमान गरेर चुनाव हुन नसक्ने धारणा राखेका छन्।
बुधबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले चुनावी वातावरण बनाएपछि मात्रै निर्वाचन हुने बताउँदै चुनाव–चुनाव भनेर मात्रै केही नुहने बताएका हुन्।
उनले भने, ‘चुनाव भन्ने भन्दा पनि गर्ने कुरा हो। चुनाव गर्ने हो भने चुनाव हुने खालको तयारी गर्नुपर्छ। चुनावको लागि अनुकूल वातावरण नबनाइकन कसरी चुनाव हुन्छ ? त्यसको लागि वातावरण त बनाउनुपर्यो नि। चुनावको वातावरण बनाउँदा यो सच्चाईलाई याद गर्नुपर्यो कि हामी बहुदलीय व्यवस्थामा छौं यसका पिल्लर राजनीतिक पार्टी हुन्। पार्टीलाई किनारमा राखेर नेतालाई अपमान गरेर, कर्नर पारेर, स्थानहद तोकेर र दलहरुलाई नियन्त्रण गरेर बहुदलिय व्यवस्थामा चुनाव हुन सक्दैन।’
त्यस्तै, उनले सरकारले चुनावको वातावरणको लागि शान्ति सुरक्षाको प्रत्याभूति हुनेगरी तयारी गर्नुपर्नेमा जोड दिए।
‘शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्यो। अपराधिहरु खुलेआम सडकमा हिडिराखेको छन्, उनीहरुलाई नियन्त्रणमा लिनुपर्यो। खोसिएका हतियारहरु राज्यको नियन्त्रणमा लिनुपर्यो। मतदाताहरुले आफ्नो मन पर्ने दललाई निर्धक्क भएर मतदान गर्ने वातावरण बन्नुपर्यो।’ उनले भने,
उपाध्यक्ष विष्णु पौडेलले मधेशमा एमालेलाई कसैले एक्लाउन नसक्ने दाबी गरे। मधेशमा आज पनि सीट र मतको आधारमा एमाले पहिलो नम्बरको पार्टी नै भएको उनको दावी छ।
राजनीतिक र मौलिक अधिकारको पक्षमा एमाले रहेको भन्दै उनले जबसम्म सामाजिक र सांस्कृतिक अधिकार सम्पन्न हुँदैन तबसम्म मौलिक अधिकारले मात्र अगाडि बढ्न नसकिने बताए।
प्रतिक्रिया